काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमाओवादी नेता जनार्दन शर्मा, पूर्वरास्वपा नेता सन्तोष परियारलगायतको पहलमा स्थापना भएको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) औपचारिक रूपमा विभाजित भएको छ। स्थापना भएको करिब नौ महिनामै पार्टी दुई धारमा विभाजित हुने सहमति भएपछि प्रलोपाको एकतायात्रा छोटो समयमै टुंगिएको हो।
पार्टीभित्र लामो समयदेखि देखिएको मतभेद अन्ततः अध्यक्ष परिषद्का सदस्य दुर्गा सोब र सन्तोष परियारबीच आपसी सहमतिमै छुट्टाछुट्टै पार्टी सञ्चालन गर्ने निर्णयमा पुगेको हो। दुवै नेताले विवाद र कानुनी लडाइँभन्दा सहमतिमै विभाजन गर्ने निर्णयलाई नयाँ राजनीतिक अभ्यासका रूपमा प्रस्तुत गरेका छन्।
सहमतिअनुसार डा. बाबुराम भट्टराईले प्रलोपा गठनअघि सञ्चालन गरेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पुनः सक्रिय बनाइने भएको छ। उक्त पार्टीको नेतृत्व दुर्गा सोबले गर्नेछिन् भने निर्वाचन आयोगमा दर्ता रहेको ‘आँखा’ चुनाव चिह्न सोही पार्टीले प्रयोग गर्ने सहमति भएको छ। यता सन्तोष परियारको समूहले भने प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) कै नाम कायम राख्ने भएको छ। निर्वाचन चिह्न भने आँखा बाहेक नयाँ, तीन रङको प्रतीक रहने गरी निर्वाचन आयोगमा आवश्यक प्रक्रिया अघि बढाइने सहमति भएको नेताहरूले बताएका छन्।
प्रलोपा गठनपछि पनि पार्टीभित्रको असन्तुष्टि भने निरन्तर बढ्दै गएको थियो। संस्थापक नेतामध्ये सुदन किराँती, ओजस्वी भट्टराईलगायतका नेता यसअघि नै पार्टीबाट अलग भइसकेका थिए। डा। बाबुराम भट्टराई पनि केही समयअघि पार्टीबाट बाहिरिएका थिए। लगातारका आन्तरिक विवाद र नेताहरूको बहिर्गमनपछि अन्ततः पार्टी औपचारिक रूपमा विभाजित भएको हो। राजनीतिक रूपमा वैकल्पिक शक्तिको दाबी गर्दै गठन भएको प्रलोपा छोटो अवधिमै विभाजनमा पुगेपछि यसको भविष्यलाई लिएर नयाँ प्रश्नहरू उठेका छन्।
विभाजित भएकामध्ये दुर्गालाई बाबुराम र सन्तोषलाई जनार्दन शर्माको साथ रहनेछ । यी दुई नेताले पर्दा पछाडी बसेर पार्टी विभाजनमा एक अर्कालाई सघाएका छन् । देखिदा सोव र सन्तोषको नाम अगाडी देखिएपनि पर्दा पछाडीबाट बाबुराम र जनार्दनकै विभाजनमा भूमिका छ ।
.jpg)
