काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबीच मंगलबार साँझ भक्तपुरको गुन्डुस्थित निवासमा भेटवार्ता भयो । ओलीको बोलावटपछि काठमाडौं आईपुगेका मुख्यमन्त्री कार्कीसँग ओलीले एक्लै वार्ता गरेका हुन् । वार्ता मुख्यमन्त्री परिवर्तनको विषयमा केन्द्रित भएको थियो ।
हिक्मत कार्कीसँग भेट गर्नुअघि अध्यक्ष ओलीले पूर्वमुख्यमन्त्री तथा पार्टीको कोशी प्रदेश इन्चार्ज समेत रहेका सचिव शेरधन राई र एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडासँग छुट्टाछुट्टै छलफल गरेका थिए। त्यसपछि भएको ओली–कार्की संवादमा अध्यक्ष ओलीले केही समयका लागि नेतृत्व परिवर्तन गरेर प्रदेश दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई अवसर दिनुपर्ने प्रस्ताव राखेका थिए भने मुख्यमन्त्री कार्कीले त्यसको औचित्यमाथि प्रश्न उठाएका थिए। कार्की स्वंयम पनि एमाले पार्टी सचिव हुन् ।
एमाले स्रोतका अनुसार कार्कीसँगको भेटमा अध्यक्ष ओलीले भने, ‘प्रदेशको अवस्था बुझिदिनुस्। तिलकुमारलाई पनि एकपटक मौका दिउँ। तपाईं पार्टीको जिम्मेवारीमा पनि हुनुहुन्छ। अब पार्टी निर्माणतर्फ मेहनत गर्नुस्। समय धेरै बाँकी छैन, सरकार तिलकुमारलाई चलाउन दिउँ।ू
जवाफमा मुख्यमन्त्री कार्कीले अहिलेको अवस्थामा पद छाड्नुको कारण स्पष्ट हुनुपर्ने धारणा राख्दै भने, ‘अहिले केही महिना मात्रै बाँकी छँदा मैले मुख्यमन्त्री किन छोड्नुपर्नेरु म बदनाम बनेँ किरु मैले काम गर्न सकिनँ किरु किन परिवर्तन गर्नेरु त्यसको औचित्य जनतालाई पनि देखाउनुपर्ला नि। पार्टी त्यसै बन्छ र ?’
अध्यक्ष ओलीले त्यसपछि पार्टीभित्र सामूहिक नेतृत्व र सबैलाई अवसर दिने अभ्यास आवश्यक रहेको उल्लेख गरेका थिए। ‘पार्टी जिम्मेवारीमा सामूहिकताको कुरा हो। सबैलाई स्थान दिएर जाँदा राम्रो हुन्छ’ ओलीको भनाइ उद्धृत गर्दै स्रोतले बतायो।
त्यसको प्रत्युत्तरमा कार्कीले व्यक्तिगत निर्णयभन्दा संस्थागत प्रक्रियालाई अघि बढाउनुपर्ने अडान दोहोर्याएका थिए।
‘पहिला तपाईंले कमिटीलाई अधिकार प्रत्यायोजन गरेर निर्णय गर्नुहुन्थ्यो। अहिले पनि कमिटीमार्फत निर्णय गरौँ। त्यसले संस्थागत अभ्यास बलियो बनाउँछ। संस्थागत निर्णय भएपछि म एक सेकेन्ड पनि पदमा बस्दिनँ,’ कार्कीको भनाइ थियो।
ओलीले नयाँ कोर्समा जान बाटो खुला गरिदिन मुख्यमन्त्री कार्कीसँग बारम्बार आग्रह गरे । ‘नयाँ कोर्समा जाउ, बाटो खोलिदिनुस्,’ ओलीले कार्कीसँग भने ।
ओलीले नयाँ कोर्समा जाने प्रस्ताव गरेपछि कार्कीले भने आफु संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री बनेको विषय पनि राखेका थिए । ‘मैले राजीनामा दिँदा संवैधानिक संकट निम्तन्छ, राजनीतिक सन्देश पनि राम्रो जाँदैन । सरकार संविधानको धारा १६८(५) अनुसार बनेको छ । यो जटिलतालाई पनि पार्टी र अध्यक्षले गम्भिरतापूर्वक लिनुपर्छ,’ कार्कीले भने ।
स्रोतका अनुसार भेटवार्तामा अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरणका पक्षमा जोड दिएका थिए भने मुख्यमन्त्री कार्कीले पार्टीको संस्थागत निर्णय भए आफू त्यसलाई पूर्ण रूपमा स्वीकार गर्ने स्पष्ट सन्देश दिएका थिए।
ओलीको इच्छा विपरित मुख्यमन्त्री कार्कीले पूरानै अडान दोहो¥याएपछि अझै प्रदेश मुख्यमन्त्रीका विषयमा अन्यौलता कायमै छ । मंगलबार एक्लाएक्लै नेताहरुको नाडी छामेका ओलीले आज भने सामुहिक छलफल गर्ने योजना बनाएका छन् । उनले आज भने कोशी प्रदेशका मुख्यमन्त्री कार्की, शेरधन राई, घनश्याम खतिवडा सहित पार्टीका उपाध्यक्षहरु समेत राखेर छलफल गर्ने योजना बनाएका छन् ।
.jpg)
