हिक्मतलाई फकाउन शेरधन राई असफल, अब ओली आफैं मैदानमा

हिक्मतलाई फकाउन शेरधन राई असफल, अब ओली आफैं मैदानमा

images
मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनलाई लिएर नेकपा एमालेभित्र चर्किएको विवाद अब काठमाडौंमै हिसाव हुने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री हिक्मत कार्की र एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालाई मंगलबारभित्र काठमाडौं उपस्थित हुन निर्देशन दिएका छन्।
    एमाले स्रोतका अनुसार, अध्यक्ष ओलीले दुवै नेतालाई भक्तपुरको गुण्डुस्थित आफ्नो निवासमा बोलाएर छलफल गर्न लागेका हुन् । विराटनगरमा पार्टी सचिव तथा प्रदेश इन्चार्ज शेरधन राईमार्फत समाधान खोज्ने प्रयास असफल भएपछि ओली आफैं प्रत्यक्ष रूपमा संवादमा उत्रिन लागेका हुन्।
    कोशी प्रदेशको नेतृत्व परिवर्तन गराउने जिम्मेवारी अध्यक्ष ओलीले पार्टी सचिव तथा पूर्वमुख्यमन्त्री शेरधन राईलाई दिएका थिए। राईले मुख्यमन्त्री कार्कीसँग पटक–पटक छलफल गर्दै पदबाट हटेर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका थिए।
    तर कार्कीले पार्टीको औपचारिक र संस्थागत निर्णयबिना आफू मुख्यमन्त्री वा संसदीय दलको नेताबाट नहट्ने अडान दोहोर्याएपछि राईको प्रयास निष्कर्षमा पुग्न सकेन। त्यसपछि ओलीले प्रदेश सभाका एमाले सांसदहरुलाई फोन लगाउन थाले । उनले हिक्मत एउटैले कित पटक अवसर पाइरहने ? भन्दै प्रदेश सांसदहरुलाई प्रदेश सभाका उपनेता तिलकुमार मेन्याङ्बोलाई पनि अवसर दिनुपर्ने मत राखेका थिए । तर पनि कार्की अडानबाट पछि हट्ने संकेत नदेखेपछि ओलीले प्रदशे अध्यक्ष घनश्याम खतिवडा र पार्टी सचिव समेत रहेका मुख्यमन्त्री हिक्मत कार्कीलाई काठमाडौं बोलाएका हुन् । दुई नेतालाई काठमाडौं बोलाएर ओली आफैं छलफल गर्ने निश्कर्षमा पुगेका हुन् ।
    अध्यक्ष ओलीले ताप्लेजुङबाट निर्वाचित प्रदेशसभा सदस्य तथा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई कोशी प्रदेशको नयाँ मुख्यमन्त्री बनाउने पक्षमा देखिएका छन्।
    तर मुख्यमन्त्री कार्कीले नेतृत्व परिवर्तन स्वीकार गर्नुअघि पार्टी सचिवालयको औपचारिक निर्णय हुनुपर्ने अडान लिएका छन्। मौखिक निर्देशनका आधारमा पद नछाड्ने उनको स्पष्ट सन्देशपछि नेतृत्व परिवर्तनको प्रक्रिया थप जटिल बनेको छ। नेकपासँग प्रदेश सरकार गठनमा मोर्चान्दीको सहमतिपछि  एमालेभित्र केही दिनअघि अध्यक्ष ओली, उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई नै निरन्तरता दिने समझदारी बनेको चर्चा थियो।

    तर त्यसपछि ओलीले नेतृत्व परिवर्तनको गृहकार्य अघि बढाएपछि उक्त सहमति कार्यान्वयन हुन नसकेको र कार्कीलाई उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको साथ रहेको बताइएको छ । ओलीले कार्की र खतिवडालाई काठमाडौं बोलाएपनि उनले गुन्डुमा गर्न खोजेको छलफलमा महासचिव पोखरेल भने सहभागी नहुने भएका छन् । आजै बेलुकीसम्म ओली निवासमा छलफल गर्ने तयारी गरिएको छ ।

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend