काठमाडौँ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न विधेयकलाई संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकका निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सङ्क्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको बताए ।
साथै, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ( पहिलो संशोधन) विधेयक, बालश्रम (निषेध तथा नियमित गर्ने)सम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलापसम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक र कर्मचारी सञ्चयकोष ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयक पनि संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय भएको छ ।
उक्त बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ । त्यस्तै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा सिन्धुलीका खेटराज दाहाल (सिन्धुली)लाई मनोनयन गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिए।
बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ समेत स्वीकृत गरेको छ ।
.jpg)
