काठमाडाैं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस) को प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग गएराति नै छलफल गरी सम्बन्धित निकायलाई निर्देशन दिएका थिए। त्यसलगत्तै प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्तिलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अभियुक्तहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रारम्भ गरेको छ ।
यही साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सत्रको एक विषयको परीक्षा चलिरहेकै समयमा प्रश्नपत्र सामाजिक सञ्जाल तथा ह्वाट्सएप ग्रुपमार्फत सार्वजनिक भएको थियो ।
‘एमबीएस फर्स्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप ग्रुपमा परीक्षा सुरु भएको पाँच मिनेटमै प्रश्नपत्र पठाइएको खुलेको छ ।
आजै परीक्षा नियन्त्रण महाशाखाले यो घटनाको छानबिन गर्न समिति पनि गठन गरेको छ ।
.jpg)
