फुटको संघारमा कांग्रेस

कांग्रेस इतर पक्षको निष्कर्ष : अब राष्ट्रिय भेलाबाट नयाँ निर्णय

कांग्रेस इतर पक्षको निष्कर्ष : अब राष्ट्रिय भेलाबाट नयाँ निर्णय

संवाद ठप्प, आरोप–प्रत्यारोप जारी, बीपी स्मृति दिवसमै समानान्तर कार्यक्रम

images
आइतवार, श्रावण ३ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अब केवल गुटगत असन्तुष्टिमा सीमित नरही संगठनात्मक विभाजनको मोडतर्फ उन्मुख भएको छ। संस्थापन र इतर पक्षबीच लामो समयदेखि औपचारिक संवाद हुन नसक्नु, समानान्तर राजनीतिक गतिविधि अघि बढ्नु र छुट्टै राष्ट्रिय कार्यकर्ता भेला बोलाउने तयारीले कांग्रेसको भविष्यबारे गम्भीर प्रश्न उठाएको छ।
    पार्टीभित्र अझै पनि औपचारिक रूपमा कसैले विभाजनको घोषणा गरेको छैन। तर दुवै पक्षका पछिल्ला गतिविधि हेर्दा एउटै संरचनाभित्र सहकार्यको सम्भावना क्रमशः साँघुरिँदै गएको देखिन्छ।

    इतर पक्षको निष्कर्ष : अब राष्ट्रिय भेलाबाट नयाँ निर्णय
    चुनदेवीस्थित सम्पर्क कार्यालयमा हालै बसेको इतर पक्षका केन्द्रीय पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको विस्तारित बैठकले अब राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने तयारीलाई तीव्र बनाएको छ। उक्त भेलाको मिति बीपी कोइराला स्मृति दिवस (साउन ६) मा सार्वजनिक गर्ने तयारी गरिएको छ।
    इतर पक्षका नेताहरूको बुझाइमा पार्टीभित्रको आन्तरिक एकताको सम्भावना लगभग समाप्त भइसकेको छ। उनीहरूका अनुसार लामो समयसम्म सहमतिका लागि प्रयास गर्दा पनि संस्थापन पक्षबाट ठोस राजनीतिक जवाफ नआएपछि अब कार्यकर्ताको म्यान्डेट लिएर अगाडि बढ्नुको विकल्प बाँकी छैन।
    पार्टीभित्रको छलफलमा भावी नेतृत्व, राजनीतिक दिशा, संगठनात्मक संरचना, वैधानिक व्यवस्था र आगामी रणनीतिबारे राष्ट्रिय भेलाले निर्णय गर्ने तयारी भइरहेको बताइएको छ। इतर पक्षभित्र छुट्टै महाधिवेशनसम्मको विकल्पबारे समेत छलफल सुरु भएको स्रोतहरू बताउँछन्।
    दुवै पक्षबीचको विवादको मुख्य आधार अहिले क्रियाशील सदस्यता र केन्द्रीय कार्यसमितिको संरचना बनेको छ।
    इतर पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित १११ जना केन्द्रीय सदस्यलाई विनासर्त वर्तमान कार्यसमितिमा समायोजन गर्नुपर्ने र पहिले नै नवीकरण भइसकेको सदस्यता पुनः अद्यावधिक गर्न नपर्ने अडान राख्दै आएको छ।
    संस्थापन पक्ष भने विधानअनुसार सदस्यता अद्यावधिक अनिवार्य भएको र प्रक्रिया पूरा नगरी कुनै पनि व्यवस्था परिवर्तन गर्न नसकिने बताइरहेको छ।
    यहीबीच सभापति गगन थापाले इतर पक्षसँग सम्बद्ध केही नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरे पनि त्यसले विवाद समाधान गर्नेभन्दा थप असन्तुष्टि बढाएको देखिएको छ।


    बीपी स्मृति दिवसमै समानान्तर कार्यक्रम
    कांग्रेसका संस्थापक बीपी कोइरालाको ४४औँ स्मृति दिवस यसपटक पार्टी एकताको प्रतीकभन्दा शक्ति प्रदर्शनको मञ्च बन्ने संकेत देखिएको छ।
    संस्थापन पक्षले देशभर जरा अभियानको समापन कार्यक्रम गर्ने तयारी गरेको छ भने इतर पक्षले १६५ निर्वाचन क्षेत्रमा अलग्गै कार्यक्रम आयोजना गर्ने घोषणा गरिसकेको छ।
    काठमाडौंको प्रज्ञा भवनमा हुने कार्यक्रमलाई विशेष शक्ति प्रदर्शनका रूपमा लिन थालिएको छ। इतर पक्षले कार्यक्रममा ठूलो संख्यामा युवा परिचालन गर्ने तयारीसमेत गरेको छ।

    संवाद ठप्प, आरोप–प्रत्यारोप जारी
    केही साताअघि मिलेर अघि बढ्न संस्थापन पक्षबाट प्रस्ताव आएको भए पनि त्यसपछि इतर पक्षले आफ्ना लिखित प्रस्ताव बुझाएको र त्यसको औपचारिक प्रतिक्रिया नआएको गुनासो इतर पक्षको छ।
    उता संस्थापन पक्ष भने विधानको सीमाभित्र रहेर सहमति गर्न तयार रहेको तर संगठनात्मक प्रक्रिया मिचेर सम्झौता गर्न नसकिने अडानमा देखिएको छ। यसले दुवै पक्षबीचको विश्वासको दूरी अझ बढाएको छ।
    राजनीतिक विश्लेषकहरूका अनुसार इतर पक्षले राष्ट्रिय कार्यकर्ता भेला बोलाएर समानान्तर संरचना निर्माणको निर्णय गरेमा त्यसले नयाँ राजनीतिक दल गठनतर्फको बाटो खोल्न सक्छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend