काठमाडौँ । वाणिज्य बैंकहरूले साउन महिनाका लागि लागू हुने नयाँ मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट) को ब्याजदर सार्वजनिक गरेका छन्। नयाँ दरअनुसार अधिकांश बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिए पनि आठ बैंकले विभिन्न शीर्षकमा ब्याजदर घटाएका छन्।
२० वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै ब्याजदर कटौती गरेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ०.७५ प्रतिशत बिन्दु र संस्थागत मुद्दती निक्षेपमा १ प्रतिशत बिन्दुले ब्याजदर घटाएको हो।
यस्तै, ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ०.५० प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशत बिन्दुले ब्याजदर कम गरेको छ। एनएमबी बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत र संस्थागततर्फ ०.५० प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ भने सिटिजन्स बैंक इन्टरनेसनलले व्यक्तिगतमा ०.१५ प्रतिशत र संस्थागतमा ०.५० प्रतिशत बिन्दुले कटौती गरेको छ।
कृषि विकास बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर ०.०३ प्रतिशत बिन्दुले घटाएको छ। त्यसैगरी कुमारी बैंकले व्यक्तिगततर्फ ०.०६ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.१० प्रतिशत बिन्दुले ब्याजदर कम गरेका छन्।
यसबीच अधिकांश बैंकले भने अघिल्लो महिनाकै ब्याजदर कायम राखेका छन्। नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा, माछापुच्छ्रे, नेपाल एसबिआई, एभरेष्ट, सिद्धार्थ, हिमालयन, लक्ष्मी सनराइज, एनआईसी एसिया र प्राइम कमर्सियल बैंकले व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपमा कुनै परिवर्तन गरेका छैनन्।
घट्दो ब्याजदरको प्रवृत्तिबीच नेपाल बैंक लिमिटेडले भने संस्थागत मुद्दती निक्षेपमा ब्याजदर बढाएको छ। बैंकले चार वर्ष वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत पुर्याएको छ। यद्यपि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भने ४.२५ प्रतिशतमै यथावत् राखिएको छ।
साउन महिनाका लागि सार्वजनिक गरिएको नयाँ दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर नबिल बैंक र प्रभु बैंकले उपलब्ध गराउने भएका छन्। यी दुवै बैंकले अधिकतम ४.५५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।
विपरीत रूपमा, व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याजदर कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको छ। यी बैंकले अधिकतम ३.८५ प्रतिशत मात्र ब्याज उपलब्ध गराउनेछन्।
संस्थागत मुद्दती निक्षेपतर्फ भने नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ। बैंकले अधिकतम ४ प्रतिशत ब्याजदर उपलब्ध गराउने भएको छ। प्रभु, कृषि विकास, नेपाल एसबिआई, प्राइम कमर्सियल, ग्लोबल आइएमई तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने संस्थागत मुद्दती निक्षेपमा न्यूनतम २.७५ प्रतिशत ब्याजदर कायम गरेका छन्।
बैंकहरूको ब्याजदर निरन्तर ओरालो लागिरहेकाले निक्षेपकर्ताको प्रतिफल घट्दै गएको छ। अर्कोतर्फ, ब्याजदरमा आएको गिरावटले ऋणको लागत कम हुने अपेक्षा गरिए पनि त्यसको प्रत्यक्ष लाभ कर्जाग्राहीसम्म कति पुग्छ भन्ने विषय भने आगामी दिनमा बैंकहरूको कर्जा नीतिले निर्धारण गर्नेछ।
.jpg)
