रोमाञ्चक फाइनलको प्रतीक्षा

विश्वकप उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

विश्वकप उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन गर्दै अर्जेन्टिना फाइनलमा, अब उपाधिका लागि स्पेनसँग भिड्ने

images
बिहिवार, आषाढ ३२ २०८३
  • काठमाडौं । साविक विजेता अर्जेन्टिनाले इंग्ल्यान्डमाथि शानदार पुनरागमन जित निकाल्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको एटलान्टास्थित स्टेडियममा बुधबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको फाइनल यात्रा तय गरेको हो।

    खेलको ५५औँ मिनेटमा एन्थोनी गोर्डनको गोलबाट इंग्ल्यान्डले अग्रता बनाए पनि अर्जेन्टिनाले अन्तिम पाँच मिनेटमा खेलको चित्र नै बदलिदियो। कप्तान लियोनल मेसीको प्रेरणादायी प्रदर्शनमा एन्जो फर्नान्डेजले ८५औँ मिनेटमा बराबरी गोल गरे भने इन्जुरी समयको दोस्रो मिनेटमा सुपर सब लाउटारो मार्टिनेजले विजयी गोल गर्दै अर्जेन्टिनालाई फाइनल पुर्‍याए।

    यससँगै तीन पटकको विश्वविजेता अर्जेन्टिना सातौँ पटक विश्वकपको फाइनलमा पुगेको छ। अर्जेन्टिनाले यसअघि १९३०, १९७८, १९८६, १९९०, २०१४ र २०२२ मा फाइनल खेलेको थियो। सन् २०२२ मा उपाधि जितेको अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्ने लक्ष्यका साथ अब स्पेनविरुद्ध मैदान उत्रनेछ।

    उपाधि भिडन्त आगामी जुलाई २० (सोमबार बिहान) अमेरिकाको न्युयोर्क–न्युजर्सी स्टेडियममा हुनेछ। तेस्रो स्थानका लागि भने आइतबार फ्रान्स र इंग्ल्यान्ड आमनेसामने हुनेछन्।

    पुनरागमनमा माहिर अर्जेन्टिना

    यस विश्वकपमा अर्जेन्टिनाले नकआउट चरणमा लगातार कठिन परीक्षा पार गर्दै फाइनलसम्मको यात्रा तय गरेको छ। समूह चरणमा अल्जेरियालाई ३–०, अस्ट्रियालाई २–० र जोर्डनलाई ३–१ ले पराजित गर्दै शतप्रतिशत नतिजासहित समूह विजेता बनेको अर्जेन्टिनाले त्यसपछि प्रत्येक चरणमा संघर्षपूर्ण जित निकाल्यो।

    राउन्ड अफ ३२ मा डेब्युटान्ट केप भर्डेलाई अतिरिक्त समयमा ३–२ ले हराएको अर्जेन्टिनाले प्रि–क्वार्टरफाइनलमा इजिप्टविरुद्ध पनि अन्तिम समयमा पुनरागमन गर्दै ३–२ को जित निकालेको थियो। क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले हराएको अर्जेन्टिनाले सेमिफाइनलमा पनि त्यही लय दोहोर्‍याउँदै इंग्ल्यान्डलाई स्तब्ध बनायो।

    स्पेन पनि अपराजित

    अर्कोतर्फ, सन् २०१० को विश्वविजेता स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा पुगेको हो। पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेको स्पेनले त्यसपछि साउदी अरेबियालाई ४–०, उरुग्वेलाई १–०, अस्ट्रियालाई ३–०, पोर्चुगललाई १–०, बेल्जियमलाई २–१ तथा सेमिफाइनलमा फ्रान्सलाई २–० ले पराजित गर्दै अपराजित यात्रालाई कायम राखेको छ।

    क्वार्टरफाइनलसम्म स्पेनले कुनै गोल बेहोरेको थिएन। बेल्जियमविरुद्ध पहिलो पटक गोल खाए पनि त्यसपछि उत्कृष्ट प्रदर्शन जारी राख्दै फाइनलमा स्थान बनाएको हो।

    रोमाञ्चक फाइनलको प्रतीक्षा

    उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको अर्जेन्टिना र १६ वर्षपछि विश्वकपको फाइनलमा पुगेको स्पेनबीचको प्रतिस्पर्धालाई यस संस्करणकै सबैभन्दा रोमाञ्चक भिडन्तका रूपमा हेरिएको छ। एकातिर नकआउट चरणमा लगातार पुनरागमन गर्दै आत्मविश्वास उच्च बनाएको अर्जेन्टिना छ भने अर्कोतिर अपराजित लयमा रहेको स्पेन।

    विश्व फुटबलका दुई शक्तिशाली टोलीबीच हुने यो उपाधि भिडन्तले विश्वभरका फुटबल समर्थकको ध्यान तानेको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend