विश्वकप सेमिफाइनल समीकरण पूरा

अन्तिम चारमा चार पूर्वविजेता, उपाधि दौड झन् रोमाञ्चक

अन्तिम चारमा चार पूर्वविजेता, उपाधि दौड झन् रोमाञ्चक

सेमिफाइनलमा स्पेन–फ्रान्स र अर्जेन्टिना–इंग्ल्यान्ड आमनेसामने

images
आइतवार, आषाढ २८ २०८३
  • काठमाडौं । फिफा विश्वकप २०२६ अब अन्तिम चारमा झरेको छ। क्वार्टरफाइनलका सबै खेल सकिएसँगै विश्व फुटबलका चार स्थापित महाशक्ति अर्जेन्टिना, इंग्ल्यान्ड, फ्रान्स र स्पेन सेमिफाइनलमा पुगेका छन्।

    रोचक संयोग के छ भने, अन्तिम चारमा पुगेका सबै टोली कुनै न कुनै समय विश्वकपको उपाधि जितिसकेका पूर्वविजेता हुन्। अब विश्व फुटबलले दुई ऐतिहासिक सेमिफाइनलको साक्षी बन्नेछ। पहिलो सेमिफाइनलमा दुई युरोपेली महाशक्ति स्पेन र फ्रान्स आमनेसामने हुनेछन् भने दोस्रो सेमिफाइनलमा साविक विजेता अर्जेन्टिना र १९६६ को विश्व विजेता इंग्ल्यान्ड बीच बहुप्रतीक्षित प्रतिस्पर्धा हुनेछ।

    विश्व फुटबलका समर्थकका लागि यी दुवै खेल फाइनलअघिकै फाइनलसरह मानिएका छन्। एकातिर स्पेनको बल नियन्त्रणमा आधारित आकर्षक खेलशैली र फ्रान्सको तीव्र आक्रमणबीचको प्रतिस्पर्धा हुनेछ भने अर्कोतर्फ अर्जेन्टिनाको अनुभव र इंग्ल्यान्डको युवा जोशबीच रोमाञ्चक भिडन्त हुनेछ।

    बेलिंघमको उत्कृष्ट प्रदर्शनले इंग्ल्यान्ड अन्तिम चारमा

    मियामीमा भएको क्वार्टरफाइनलमा इंग्ल्यान्डले नर्वेमाथि २–१ को पुनरागमन जित निकाल्दै आठ वर्षपछि विश्वकपको सेमिफाइनल यात्रा तय गर्‍यो।

    पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुगेको नर्वेले ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपको गोलबाट अग्रता लिएको थियो। तर पहिलो हाफको इन्जुरी समयमा जुड बेलिंघमले बराबरी गोल फर्काए।

    निर्धारित ९० मिनेटमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको तेस्रो मिनेटमै बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाए।

    इंग्ल्यान्ड विश्वकप इतिहासमा चौथोपटक सेमिफाइनल पुगेको हो। यसअघि उसले सन् १९६६ मा उपाधि जितेको थियो भने १९९० र २०१८ मा सेमिफाइनलसम्म पुगेको थियो।

    खेलपछि प्रशिक्षक थोमस टुचेलले टोलीले उत्कृष्ट प्रदर्शन नगरे पनि अन्तिम नतिजा आफ्नो पक्षमा आएकोमा सन्तोष व्यक्त गरे। दुई गोल गरेका बेलिंघमको मानसिक दृढता र निर्णायक प्रदर्शनले टोलीलाई अन्तिम चारसम्म पुर्‍याएको उनले बताए।

    अर्जेन्टिनाको आत्मविश्वास उच्च

    साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै लगातार उत्कृष्ट लय कायम राखेको छ। अनुभवी खेलाडी र सन्तुलित टोली संयोजनका कारण अर्जेन्टिना उपाधिको बलियो दाबेदारका रूपमा अघि बढिरहेको छ।

    अब अर्जेन्टिनाको अर्को चुनौती इंग्ल्यान्ड हुनेछ। दुई फुटबल शक्तिबीचको यो भेटले विश्वभरका समर्थकको ध्यान तानेको छ।

    स्पेन र फ्रान्स पनि लयमा

    स्पेनले बेल्जियमलाई २–१ ले हराउँदै सन् २०१० पछि पहिलो पटक विश्वकपको सेमिफाइनल यात्रा तय गरेको हो। यता फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै लगातार तेस्रो विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ।

    नयाँ विजेताको सम्भावना समाप्त

    क्वार्टरफाइनलबाट नर्वे र स्विट्जरल्यान्ड बाहिरिएसँगै यसपटक विश्वकपमा नयाँ च्याम्पियन बन्ने सम्भावना समाप्त भएको छ। अब उपाधि चार पूर्वविजेतामध्ये एकले नै उचाल्ने निश्चित भएको छ।

    अर्जेन्टिना तीन पटकको विश्व विजेता हो भने फ्रान्स दुई पटक विश्व च्याम्पियन बनिसकेको छ। स्पेन र इंग्ल्यान्डले समान एक–एक पटक विश्वकप जितेका छन्।

    अब असार ३१ गते डालासमा हुने पहिलो सेमिफाइनलमा स्पेन र फ्रान्स भिड्नेछन्। त्यसको भोलिपल्ट एटलान्टामा अर्जेन्टिना र इंग्ल्यान्डबीच दोस्रो सेमिफाइनल हुनेछ। दुवै खेलका विजेताले साउन ४ गते न्यूयोर्क–न्यु जर्सीमा हुने विश्वकप फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

    विश्व फुटबल अब यस्तो मोडमा पुगेको छ जहाँ एउटा गल्तीले सपना समाप्त हुन सक्छ र एउटा उत्कृष्ट प्रदर्शनले इतिहास रच्न सक्छ। त्यसैले सेमिफाइनलका यी दुई भिडन्तलाई विश्वकप २०२६ का सबैभन्दा रोमाञ्चक खेलका रूपमा हेरिएको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend