काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवालाई सात दिनभित्र विभागमा उपस्थित भएर बयान दिन सार्वजनिक सूचना जारी गरेको छ। विभागले सोमबार काठमाडौं महानगरपालिका–२, बुढानीलकण्ठस्थित देउवाको निवासमा उपस्थितीसम्बन्धी सूचना टाँसेको हो। विभागका अनुसार जयवीर देउवाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको र सोही अनुसन्धानका क्रममा बयानका लागि उपस्थित हुन भनिएको हो।
यो सूचना सरकारी पत्रिका गोरखापत्र दैनिकमा समेत प्रकाशित गरिएको छ । सार्वजनिक सूचनामा सूचना प्रकाशित भएको मितिले सात दिनभित्र ललितपुरको पुल्चोकस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यालयमा उपस्थित हुन भनिएको छ। तोकिएको अवधिभित्र उपस्थित नभए प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।
यसअघि पनि विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा परराष्ट्रमन्त्री आरजु राणा देउवालाई अनुसन्धानका लागि उपस्थित हुन सूचना जारी गरेको थियो। त्यस्तै, पूर्वपरराष्ट्रमन्त्री तथा जयवीरका आमा तथा पूर्व प्रधानमन्त्री देउवाका पत्नी आरजु राणाविरुद्ध राहदानी (पासपोर्ट) खरिद प्रकरणको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरमा म्याद टाँसेको थियो ।
अख्तियारले तीन दिनभित्र उपस्थित हुन सूचना टाँसेकोमा आरजुले आफू हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेकाले तत्काल उपस्थित हुन नसक्ने भनेर इमेल पठाएकी थिइन् । स्रोतका अनुसार, जयवीर देउवामाथि नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद तथा राहदानी (पासपोर्ट) छपाइ ठेक्कासम्बन्धी अनियमिततामा संलग्न रहेको भन्दै विभिन्न निकायमा उजुरी परेको छ। ती उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाइरहेका छन्।
उक्त अनुसन्धानकै सिलसिलामा जयवीर देउवालाई बयानका लागि उपस्थित हुन विभागले औपचारिक सूचना जारी गरेको स्रोतले जनाएको छ।
.jpg)
