काठमाडौं । फिफा विश्वकप २०२६ क्वार्टरफाइनलतर्फ अघि बढ्दै गर्दा अर्को एउटा रोमाञ्चक प्रतिस्पर्धाले पनि विश्व फुटबल समर्थकको ध्यान तानेको छ- गोल्डेन बुटको दौड। अहिले यो दौडमा तीन सुपरस्टार एउटै उचाइमा उभिएका छन्, जसले अन्तिमसम्म कसले बाजी मार्ला भन्ने उत्सुकता झन् बढाएको छ।
सोमबार बिहान ब्राजिलविरुद्ध नर्वेका स्टार फरवार्ड अर्लिङ हालान्डले दुई शानदार गोल गर्दै आफ्नो कुल गोल संख्या सात पुर्याए। यही दुई गोलले उनलाई अर्जेन्टिनाका लियोनेल मेसी र फ्रान्सका किलियन एम्बाप्पेको बराबरीमा पुर्याएको हो।
गोलको संख्या समान भए पनि गोल्डेन बुटको आधिकारिक वरीयतामा भने एम्बाप्पे अघि छन्। कारण हो— असिस्ट। एम्बाप्पेको नाममा दुई असिस्ट छन् भने मेसी र हालान्डले अहिलेसम्म कुनै असिस्ट गरेका छैनन्। त्यसैले अहिले एम्बाप्पे शीर्षस्थानमा छन्, तर अन्तर भने निकै सानो छ।
हालान्डको निरन्तर गोल वर्षा
हालान्डले प्रतियोगिताको सुरुवातदेखि नै विपक्षी रक्षकका लागि दुःस्वप्न बनिरहेका छन्। उनले समूह चरणमा इराकविरुद्ध दुई तथा सेनेगलविरुद्ध दुई गोल गरे। त्यसपछि नकआउट चरणको पहिलो खेलमा आइभोरी कोस्टविरुद्ध एक गोल थपे। ब्राजिलजस्तो बलियो टोलीविरुद्ध दुई गोल गर्दै उनले आफ्नो गोल संख्या सातमा पुर्याए र गोल्डेन बुटको दौडलाई नयाँ मोड दिए।
मेसीको जादु अझै कायम
३९ वर्षको उमेरमा पनि लियोनेल मेसीको प्रभाव उस्तै देखिएको छ। उनले प्रतियोगिताको पहिलो खेलमै अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै आफ्नो अभियान विस्फोटक बनाएका थिए। त्यसपछि अस्ट्रियाविरुद्ध दुई गोल, जोर्डनविरुद्ध एक गोल र अन्तिम ३२ मा केप भर्डेविरुद्ध अर्को गोल गर्दै सात गोलको आँकडा पूरा गरेका छन्।
अनुभव, नेतृत्व र निर्णायक क्षणमा गोल गर्ने क्षमता मेसीको सबैभन्दा ठूलो बल बनेको छ।
एम्बाप्पे : गोलसँगै असिस्टको चमक
फ्रान्सका किलियन एम्बाप्पे पनि उस्तै लयमा छन्। उनले समूह चरणमा सेनेगल र इराकविरुद्ध समान दुई–दुई गोल गरे। त्यसपछि अन्तिम ३२ मा स्वीडेनविरुद्ध दुई गोल र अन्तिम १६ मा पाराग्वेविरुद्ध एक गोल गर्दै सात गोल पुर्याए।
गोलसँगै उनले दिएका दुई असिस्टले उनलाई गोल्डेन बुटको प्रतिस्पर्धामा अहिलेको अग्रस्थान दिलाएको छ।
केन अझै दौडबाट बाहिर छैनन्
गोल्डेन बुटको दौड तीन खेलाडीमा मात्र सीमित छैन। इंग्ल्यान्डका कप्तान ह्यारी केन पनि पाँच गोलसहित प्रतिस्पर्धामा छन्। इंग्ल्यान्डको यात्रा जिततर्फ अघि बढ्दै गए केनले पनि शीर्ष तीनलाई कडा चुनौती दिन सक्छन्।
.jpg)
