मंगलबार र बुधबार यी स्थानमा भारी वर्षाको सम्भावना

मंगलबार र बुधबार यी स्थानमा भारी वर्षाको सम्भावना

images
आइतवार, आषाढ १४ २०८३
  • काठमाडौँ । असार १६ र १७ गते देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । 

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सूचना जारी गर्दै १६ र १७ गते विभिन्न स्थानमा भारी वर्षासँगै एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ ।   

    प्राधिकरणले यसका लागि आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै अकस्मात बाढी आउनसक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको छ । 

    पहिरोको जोखिममा रहेका स्थान तथा खोला÷नदी किनाराका बस्तीका बासिन्दालाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ । दुई दिन मधेस तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा तथा एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

    पहाडी र तराई भू–भागका धेरै स्थानमा तथा हिमाली भूभागका केही स्थानमा समेत मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । 

    मनसुनी गतिविधि बढेका बेला अकस्मात बाढी, पहिरो, कटान, गेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिमसमेत हुने जनाउँदै प्राधिकरणले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न आग्रह गरेको हो । 

    डुबान हुने बस्तीका बासिन्दालाई आवश्यक पर्नासाथ उँचो र सुरक्षित स्थानमा जान तथा तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन अनुरोध गरेको छ । 

    यस्तै जोखिमयुक्त राजमार्ग र सडकमा डोजर, एक्साभेटर, लोडरलगायत साधन तयारी अवस्थामा राख्न तथा पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थालाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही काम गर्न प्राधिकरणको आग्रह छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend