काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत भइरहेको केन्द्रीय समिति निर्वाचन मतदान जारी छ । मतदानका क्रममा उम्मेदवारहरूले नै आफ्नो उम्मेदवारी विवरण, क्लस्टर र मतपत्रमा देखिएको नामको क्रमबारे असन्तुष्टि सार्वजनिक गरेपछि निर्वाचन व्यवस्थापनको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको छ।
निर्वाचन प्रक्रियामा सहभागी विभिन्न उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत आफूहरूले मनोनयन गर्दा प्राप्त गरेको विवरण र मतदान प्रणालीमा देखिएको विवरणबीच फरक परेको बताएका छन्। कतिपयले उम्मेदवारी दिएको समूह नै परिवर्तन गरिएको दाबी गरेका छन् भने केहीले नामको क्रम र उम्मेदवार नम्बरमा अस्वाभाविक हेरफेर भएको बताएका छन्।
केन्द्रीय सदस्य पदकी उम्मेदवार आशिका तामाङले मनोनयनका क्रममा प्राप्त गरेको उम्मेदवार नम्बर र मतदान प्रणालीमा देखिएको नम्बर फरक परेको उल्लेख गर्दै यसले मतदातामा अन्योल सिर्जना गरेको बताएकी छन्। उनका अनुसार प्रारम्भिक सूचीमा रहेको क्रम र अन्तिम मतदान सूचीबीच ठूलो अन्तर देखिएको छ।
यस्तै, उम्मेदवार यज्ञमणि न्यौपानेले उम्मेदवारहरूको सूची तयार गर्दा कुनै स्पष्ट आधार नअपनाइएको आरोप लगाएका छन्। उनले मतदान प्रणालीमा नामहरू न वर्णानुक्रममा रहेको, न त मनोनयन दर्ताको क्रमअनुसार नै राखिएको भन्दै प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठाएका छन्। निर्वाचन व्यवस्थापनप्रति सबैभन्दा गम्भीर असन्तुष्टि भने उम्मेदवारी क्लस्टर परिवर्तनको विषयमा देखिएको छ। उम्मेदवार दीपक बोहराले आफूले खुला प्रतिस्पर्धीका रूपमा प्रचारप्रसार गरिरहेको अवस्थामा अन्तिम चरणमा आएर आफ्नो नाम प्रदेशगत कोटामा समावेश भएको जानकारी पाएको बताएका छन्। यसले आफ्नो चुनावी अभियान र मतदाताबीचको सन्देशमा असर पुगेको उनको भनाइ छ।
अर्का उम्मेदवार शिव नेपालीले पनि आफू कुनै समावेशी समूहबाट नभई खुला प्रतिस्पर्धाबाट चुनाव लडिरहेको स्पष्ट पार्नुपर्ने अवस्था आएको बताएका छन्। मतदानअघि नै मतदातालाई आफ्नो वास्तविक उम्मेदवारी अवस्थाबारे जानकारी दिनुपरेको उनको गुनासो छ। उम्मेदवारहरूबाटै लगातार प्रश्न उठ्न थालेपछि महाधिवेशनको निर्वाचन व्यवस्थापन क्षमतामाथि बहस सुरु भएको छ। पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्ने उद्देश्यले आयोजना गरिएको पहिलो महाधिवेशनमा यस्ता गुनासा सार्वजनिक हुनु नेतृत्वका लागि समेत चुनौतीका रूपमा हेरिएको छ।
यद्यपि, निर्वाचन प्रक्रियामा देखिएका त्रुटिबारे रास्वपाको निर्वाचन आयोगले हालसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन। आयोगको स्पष्टीकरण नआएसम्म उम्मेदवारहरूले उठाएका प्रश्न र निर्वाचन व्यवस्थापनबारेको विवाद भने महाधिवेशनको मुख्य चर्चाको विषय बनेको छ।
.jpg)
