जनकपुरधाम । एक करोड रुपैयाँभन्दा कम लागतका योजनामा बजेट नछर्ने, टुक्रे योजना बन्द गर्ने, नयाँ सवारीसाधन खरिदमा रोक लगाउने र अनुत्पादक खर्च कटौती गरेर पुँजीगत निर्माणलाई प्राथमिकता दिने गरी बजेट बनाएका मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई (समिर) चढ्ने गरेको सरकारी गाडी मधेश भवन परिसरभित्रै तोडफोड भएको छ। बजेटमार्फत पुरानो खर्च प्रणालीमा अंकुश लगाउने प्रयास गरिरहेका बेला मन्त्री भट्टराईको गाडीमा भएको यो घटनाले विभिन्न चर्चा र आशंका जन्माएको छ।
बुधबार बिहान मन्त्रालय अगाडि पार्किङ गरिएको ज १ झ ४४१ नम्बरको सरकारी गाडीमा अज्ञात व्यक्तिले जडान गरिएको राष्ट्रिय झण्डा भाँचेर फालिदिएको प्रहरीले जनाएको छ। घटना अर्थ मन्त्रालय रहेको मधेश भवन परिसरभित्रै भएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक तथा निमित्त प्रवक्ता मनोज यादवका अनुसार बिहान करिब ११ बजेतिर स्कार्पियो गाडीमा आएका एक व्यक्तिले अर्थमन्त्रीको गाडी वरिपरि केहीबेर निरीक्षण गरेपछि गाडीमा रहेको राष्ट्रिय झण्डा भाँचेर भूइँमा फालेका थिए।
सीसीटीभी फुटेजमा ती व्यक्ति कानमा मोबाइल फोन लगाउँदै मन्त्रालय परिसरभित्र प्रवेश गरेको र करिब चार–पाँच मिनेटसम्म त्यहाँ रहेको देखिएको छ। उनको गतिविधि सामान्य नभई योजनाबद्ध प्रकृतिको देखिएकाले त्यस कोणबाट पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली मधेश भवन पुगेको थियो। घटनास्थलको निरीक्षणसँगै सीसीटीभी फुटेज अध्ययन गरिएको भए पनि परिसरका अन्य महत्वपूर्ण क्यामेरा बिग्रिएको अवस्थामा रहेकाले घटनामा प्रयोग भएको स्कार्पियोको नम्बर र व्यक्तिको थप विवरण पहिचान गर्न कठिनाइ भएको बताइएको छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारिएको र चाँडै पहिचान तथा पक्राउ गरिने जनाएको छ। यो घटना अर्थमन्त्री भट्टराईले असार १ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटपछि भएको हो। उक्त बजेटमा टुक्रे योजना अन्त्य गर्ने, उपभोक्ता समितिमार्फत हुने खर्चलाई सीमित गर्ने, विकास आयोजनालाई न्यूनतम एक करोड रुपैयाँभन्दा माथिको दायरामा केन्द्रित गर्ने तथा अनुत्पादक खर्च कटौती गर्ने व्यवस्था गरिएको छ।
मधेश प्रदेशमा वर्षौंदेखि बजेट वितरणका नाममा साना–साना योजना बाँड्ने, राजनीतिक प्रभावका आधारमा कार्यक्रम छनोट गर्ने र उपभोक्ता समितिमार्फत खर्च बढाउने अभ्यास रहँदै आएको सन्दर्भमा भट्टराईको बजेटलाई सुधारमुखी कदमका रूपमा हेरिएको थियो। बजेट सार्वजनिक भएपछि विभिन्न क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको थियो।
स्रोतका अनुसार बजेट निर्माणकै क्रममा पनि टुक्रे योजना कायम राख्न र पुरानै शैलीका कार्यक्रम समेट्न अर्थमन्त्रीमाथि विभिन्न तहबाट दबाब परेको थियो। तर उनले आफ्नो अडान नछाड्दै बजेट प्रस्तुत गरेका थिए। यही पृष्ठभूमिमा मन्त्रीको सरकारी गाडीमाथि भएको तोडफोडलाई कतिपयले दबाब दिन खोजिएको घटनाका रूपमा समेत व्याख्या गर्न थालेका छन्। यद्यपि प्रहरीले घटनाको कारणबारे कुनै निष्कर्षमा नपुगी अनुसन्धान जारी रहेको जनाएको छ।
सरकारी मन्त्रीको सवारीसाधनमाथि प्रदेश सरकारकै मुख्य प्रशासनिक परिसरभित्र यस्तो घटना हुनु र त्यही समयमा अधिकांश सीसीटीभी क्यामेरा निष्क्रिय अवस्थामा भेटिनुले मधेश भवनको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। प्रहरीले घटनाका सबै पक्षमाथि अनुसन्धान भइरहेको जनाएको छ।
.jpg)
