चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समिति सदस्यका लागि प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयमा कार्यरत तीन जनाले उम्मेदवारी दर्ता गरेका छन्।
प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका हुन्।
असिम शाहले मुस्लिम समावेशी समूहबाट उम्मेदवारी दिएका छन्। काठमाडौं महानगरपालिकाका प्रमुख रहेका बेला वालेन्द्र शाह र रास्वपाबीच राजनीतिक सहकार्यको वातावरण निर्माणमा उनले महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। गत वर्षको जेन–जी आन्दोलनका क्रममा उनले सबैभन्दा पहिले सांसद पदबाट राजीनामा दिएका थिए। आन्दोलनपछि वैकल्पिक राजनीतिक शक्तिहरूबीच संवाद र सहकार्यको पहलमा समेत उनी सक्रिय रहँदै आएका छन्। हाल उनी प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारका रूपमा कार्यरत छन्।
त्यस्तै, प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले खुला समूहबाट उम्मेदवारी दिएका छन्। उनी यसअघि काठमाडौं महानगरपालिकामा सूचना प्रविधि तथा सुशासन सल्लाहकारका रूपमा कार्यरत थिए। डिजिटल प्रशासन, सूचना प्रणाली विकास तथा डाटामा आधारित निर्णय प्रक्रियालाई संस्थागत बनाउन उनले योगदान दिएको बताइन्छ। जेन–जी आन्दोलनपछि भएको राजनीतिक समायोजन र रास्वपासँगको समन्वय प्रक्रियामा पनि उनले भूमिका खेलेका थिए।
यस्तै, प्रधानमन्त्रीकी स्वकीय उपसचिव प्रकृति ढकालले खुला महिला समूहबाट उम्मेदवारी दर्ता गरेकी छन्। सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा, नीति अनुसन्धान तथा युवा नेतृत्व विकासका क्षेत्रमा सक्रिय उनी हाल सार्वजनिक नीति र अन्तरमन्त्रालय समन्वयका विषयमा काम गर्दै आएकी छन्। उनले हालै बेलायतस्थित लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स बाट ‘विश्व स्वास्थ्य नीति’ विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेकी हुन्।
.jpg)
