नेकपाभित्र नयाँ शक्ति संघर्ष

प्रचण्डलाई झलनाथको ३६ बुँदे पत्र : के म यो पार्टीमा धुप हालेर बस्ने ?

प्रचण्डलाई झलनाथको ३६ बुँदे पत्र : के म यो पार्टीमा धुप हालेर बस्ने ?

images
बुधवार, आषाढ ३ २०८३
  • काठमाडौं । पार्टी एकीकरण भएको सात महिना पुग्न लाग्दा पनि आफूलाई पूर्ण रूपमा जिम्मेवारीविहीन बनाइएको भन्दै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) लाई ३६ बुँदे असन्तुष्टि पत्र पठाएका छन्। पत्रमा उनले वैचारिक विचलनदेखि नेतृत्वको नैतिकतासम्मका प्रश्न उठाउँदै पार्टीभित्र गम्भीर असन्तुष्टि सार्वजनिक गरेका छन्।
    खनालले आफूलाई ६ दशक लामो कम्युनिष्ट आन्दोलनको अनुभव हुँदाहुँदै पनि पार्टी एकतापछि पूर्ण रूपमा पाखा लगाइएको भन्दै नेतृत्वप्रति असन्तोष व्यक्त गरेका छन्। पत्रमा उनले प्रश्न गरेका छन्, - के म यो पार्टीमा धुप हालेर बस्ने मात्रै हो ?

    वैचारिक सहमति तोडिएको आरोप
    खनालले पार्टी एकताअघि आफू र प्रचण्डबीच मार्क्सवाद-लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने तथा वैज्ञानिक समाजवादको लक्ष्यलाई केन्द्रमा राख्ने सहमति भएको स्मरण गराएका छन्। तर एकतापछि नेतृत्व ती सहमतिबाट विचलित भएको उनको आरोप छ। उनले प्रचण्ड आफ्नै राजनीतिक अडानमा टिक्न नसकी सहसंयोजक माधव नेपालको प्रभाव र दबाबमा परेको दाबी गरेका छन्। नेपालले जे प्रस्ताव गर्‍यो, त्यसैलाई कार्यान्वयन गरिएको र पार्टी सञ्चालनमा वैचारिकभन्दा गुटगत स्वार्थ हाबी भएको खनालको निष्कर्ष छ।


    माधव नेपालमाथि कठोर टिप्पणी
    पत्रमा खनालले माधव नेपालमाथि सबैभन्दा कडा आलोचना गरेका छन्। आफूसँग मतभिन्नता राख्ने नेता तथा युवाहरूलाई योजनाबद्ध रूपमा पाखा लगाइएको आरोप लगाउँदै उनले पार्टीभित्र पूर्वाग्रह र पक्षपात संस्थागत गरिएको बताएका छन्। त्यसैगरी भ्रष्टाचार मुद्दा खेपिरहेका र चुनावी पराजय भोगेका माधव नेपाललाई नयाँ पार्टीको सहसंयोजक बनाइनु नेतृत्वको नैतिक पतन भएको उनको टिप्पणी छ। एमाले विभाजन पनि विचारका लागि नभई पद प्राप्तिको उद्देश्यले गरिएको आरोप उनले लगाएका छन्।


    ‘जबज’ बाट पार्टी अधोगतितर्फ
    खनालको पत्रको अर्को मुख्य विषय वैचारिक दिशा हो। उनले बहुदलीय जनवाद (जबज) लाई “दक्षिणपन्थी विचलन” को रूपमा चित्रण गर्दै त्यसलाई पार्टीमा भित्र्याइनु गम्भीर गल्ती भएको बताएका छन्। उनका अनुसार जनयुद्ध र माओवादी राजनीतिक धारको नेतृत्व गरेका प्रचण्ड अहिले प्रजातान्त्रिक समाजवादसम्म सीमित हुन पुगेका छन्, जसले पार्टीको क्रान्तिकारी चरित्र कमजोर बनाएको छ। खनालले आफूसँग छलफल नै नगरी अन्तरिम विधानमा प्रजातान्त्रिक समाजवाद र बहुदलीय जनवादलाई लक्ष्यका रूपमा समावेश गरिएको भन्दै त्यसलाई राजनीतिक धोखा र वैचारिक बेइमानीको संज्ञा दिएका छन्।


    ‘खोरभित्र बसेजस्तो अनुभूति’
    पत्रको अन्त्यतिर खनालले पार्टीभित्र आफूलाई “खोरभित्र राखिएको जस्तो अनुभूति” भइरहेको उल्लेख गरेका छन्। नेतृत्वमा नैतिकता, पारदर्शिता र वैचारिक स्पष्टता नभएसम्म क्रान्तिकारी पार्टी निर्माण सम्भव नहुने चेतावनी पनि उनले दिएका छन्।

    नेकपाभित्र नयाँ शक्ति संघर्षको संकेत
    खनालको ३६ बुँदे पत्र केवल व्यक्तिगत गुनासो मात्र नभई पार्टीको वैचारिक दिशा, नेतृत्वको कार्यशैली र शक्ति सन्तुलनमाथि उठाइएको गम्भीर प्रश्नका रूपमा हेरिएको छ। पार्टी एकीकरणपछि सतहमा नदेखिएका अन्तरविरोधहरू अब सार्वजनिक रूपमा प्रकट हुन थालेको संकेत यो पत्रले दिएको छ। यदि नेतृत्वले यी प्रश्नहरूको राजनीतिक सम्बोधन गर्न सकेन भने, नेकपाभित्र नयाँ ध्रुवीकरण र शक्ति संघर्षको बहस अझ तीव्र हुने देखिन्छ। विशेषगरी खनालको प्रश्न- के म यो पार्टीमा धुप हालेर बस्ने ? ले पार्टीभित्रको असन्तुष्टिको गहिराइलाई उजागर गरेको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend