काठमाडौं । हुँदाखाँदाको सरकार छोडेर भाग्नु मात्रै परेन, गत फागुन २१ को चुनावमा पार्टी अध्यक्ष सहित सम्पूर्ण पदाधिकारी नै प्रत्यक्ष चुनावमा हार्ने र पार्टी पनि सबैभन्दा कमजोर अवस्थामा पुग्ने गरी चुनावी परिणाम आएपछि प्रतिपक्षी दलमध्येको एक एमालेमा अहिले पार्टी पूर्नगठनको बहस तात्तिएको छ । एमालेभित्रको आन्तरिक तनाव अब सार्वजनिक बहसको विषय मात्र रहेन, पार्टी विभाजनसम्म पुग्न सक्ने संकेतसहित अध्यक्ष केपी शर्मा ओली स्वयं मैदानमा उत्रिएका छन्।
शनिबार भक्तपुरको जडीबुटीमा सम्पन्न निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यक्रममा अधिकांश नेताहरूले पार्टी पुनर्गठनको पक्षमा धारणा राखेपछि अध्यक्ष ओली अचानक सक्रिय बने। कार्यक्रम सकिन नपाउँदै बागमती प्रदेशका नेताहरूलाई हतार–हतार भक्तपुरकै गुन्डुस्थित आफु बसिरहेको निवासमा बोलाइयो। सूचना बागमती प्रदेश इन्चार्ज महेश बस्नेतमार्फत पठाइएको थियो।
त्यहाँ पुगेका नेताहरूका अनुसार ओलीले करिब एक घण्टा लामो ‘विशेष ब्रिफिङ’ गर्दै एमाले विभाजनको गम्भीर आशंका व्यक्त गरेका थिए। अझ उनले पार्टीका दोस्रो र तेस्रो वरीयताका नेतामाथि नै विभाजनको योजना अघि बढाइरहेको आरोप लगाएका थिए।
विष्णु र शंकरले पार्टी फुटाउन खोजिरहेका छन् : ओली
गुन्डुमा भएको छलफलमा ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलप्रति असाधारण रूपमा आक्रोश व्यक्त गरेको सहभागी नेताहरूको दाबी छ। स्रोतका अनुसार ओलीले नेताहरूसँग भनेका थिए, 'विपक्षीहरूको योजनाअनुसार पार्टीभित्र काम भइरहेको छ। विष्णु र शंकरले एमाले विभाजनको दिशा समातेका छन्। केही मान्छेहरू फुटेर जान पनि सक्छन्।'
ओलीले आफू पुनर्गठन कार्यदल बनाउने पक्षमा नरहेको तर दबाबका कारण त्यसलाई स्वीकार्नुपरेको भन्दै यही प्रक्रियालाई एमाले फुटाउने ‘प्रवेशद्वार’ बनाइएको संकेत गरेका थिए।
पुनर्गठनको बहसले बढायो ओलीको चिन्ता
शनिबारको सुझाव संकलन कार्यक्रममा अधिकांश नेताहरूले एमालेको कमजोर हुँदै गएको जनमत, संगठनात्मक संकट र नेतृत्व शैलीमाथि प्रश्न उठाउँदै पार्टी पुनर्गठनको आवश्यकता औंल्याएका थिए।
उपाध्यक्ष विष्णु पौडेलले खुलेरै भनेका थिए,-'एमाले जोगाउने हो भने पुनर्गठन अपरिहार्य छ।' पार्टीभित्र पुनर्गठनको माग यति बलियो रूपमा उठेको देखेर ओली झस्किएको नेताहरूको विश्लेषण छ। कार्यक्रममा सहभागी एक नेताका अनुसार करिब ९० प्रतिशतभन्दा बढी वक्ताहरूले कुनै न कुनै रूपमा पुनर्गठनको पक्षमा धारणा राखेका थिए।
ओलीको कटाक्ष : शंकर लोभी, विष्णु पापी
गुन्डु बैठकमा ओलीले विष्णु पौडेल र शंकर पोखरेलमाथि निकै कडा टिप्पणी गरेको दाबी गरिएको छ। स्रोतका अनुसार उनले भनेका थिए, - 'शंकर लोभी हुन्, विष्णु पापी हुन्। यिनीहरूले पार्टीमा संकट ल्याउन खोजिरहेका छन्।'
ओलीको असन्तुष्टि विशेषगरी विष्णु पौडेलप्रति बढी देखिएको बताइन्छ। आफूविरुद्ध कारबाही र पक्राउको अवस्था आउँदा सार्वजनिक रूपमा समर्थन नगरेको विषय उनले पुनः उठाएका थिए।
'मलाई पक्राउ गर्दा एउटा स्टाटस पनि लेखेनन्'
बैठकमा ओलीले विगतको प्रसंग स्मरण गर्दै पौडेलमाथि गुनासो पोखेका थिए। उनको भनाइ उद्धृत गर्दै एक नेताले भने, - 'मैले एउटा स्टाटस लेखिदेऊ भनेँ। गलत भयो भनेर भनिदेऊ भनेँ। तर उहाँ तयार हुनुभएन।' यो प्रसंगले ओली र पौडेलबीच लामो समयदेखि बढ्दै गएको अविश्वासलाई थप उजागर गरेको नेताहरू बताउँछन्।
गोकुल बाँस्कोटाको टिप्पणीले थप तरंग
सुझाव संकलन कार्यक्रममा नेता गोकुल बाँस्कोटाले पनि एमालेको वर्तमान संकटबारे तीखो टिप्पणी गरेको बताइएको छ। सहभागीहरूका अनुसार बाँस्कोटाले अब केपी ओली र एमालेमध्ये एउटा रोज्नुपर्ने अवस्था आउन सक्छ भन्ने आशयको धारणा राखेका थिए। यद्यपि यसबारे सार्वजनिक रूपमा कुनै नेताले पुष्टि गरेका छैनन्।
शंकरको जवाफ : ‘जनभावनाविपरीत अभिव्यक्तिले पार्टी जोगिँदैन’
गुन्डु बैठकमा आफूमाथि भएको टिप्पणीपछि महासचिव शंकर पोखरेलले आइतबार सामाजिक सञ्जालमार्फत अप्रत्यक्ष प्रतिक्रिया दिएका छन्।
उनले लेखेका छन्, 'जनभावनाविपरीत अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन। जनभावनाको सम्मान गर्दै जनसम्बन्ध सुदृढ गरौँ, किनकि जनता नै इतिहासका निर्माता हुन्।' पोखरेलको यो अभिव्यक्तिलाई धेरै नेताहरूले ओलीलाई लक्षित जवाफका रूपमा व्याख्या गरेका छन्।
एमालेभित्र अब के हुन्छ ?
पार्टी पुनर्गठनको बहस, नेतृत्वमाथि बढ्दो प्रश्न, दोस्रो पुस्ताका नेताहरूको सक्रियता र अध्यक्ष ओलीको सार्वजनिक–अर्धसार्वजनिक आक्रोशले एमालेभित्र शक्ति संघर्ष नयाँ चरणमा प्रवेश गरेको संकेत दिएको छ। अहिलेसम्म कसैले पार्टी फुटाउने औपचारिक तयारीको घोषणा गरेका छैनन्। तर गुन्डुमा ओलीले व्यक्त गरेको आशंका र पुनर्गठन पक्षधर नेताहरूको बढ्दो दबाबले एमालेभित्रको राजनीतिक भूगोल तीव्र रूपमा फेरिन थालेको सन्देश दिएको छ।
एमाले विभाजनको सम्भावना वास्तवमै छ कि छैन भन्ने भविष्यले देखाउला, तर एउटा कुरा भने स्पष्ट देखिएको छ,- गुन्डुको त्यो बैठकले एमालेभित्रको अविश्वास र अन्तर्विरोधलाई पहिलोपटक यति खुला रूपमा सतहमा ल्याइदिएको छ।
.jpg)
