टेम्पो भीरबाट खसालिएको घटनामा ११ कर्मचारी प्रहरी नियन्त्रणमा

टेम्पो भीरबाट खसालिएको घटनामा ११ कर्मचारी प्रहरी नियन्त्रणमा

images
आइतवार, जेठ ३१ २०८३
  • कैलाली । कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा एक महिलाले प्रयोग गर्दै आएको टेम्पो भीरबाट खसालेको घटनामा प्रहरीले ११ जना सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

    प्रहरीका अनुसार केही कर्मचारी इलाका प्रहरी कार्यालय मालाखेतीमा र केही जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएका छन्। घटनामा संलग्न भएको भनिएका मुख्य व्यक्तिहरूको पनि पहिचान भइसकेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    घटनापछि आइतबार जिल्ला प्रशासन कार्यालय कैलालीमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा विभिन्न पक्षबीच छलफल भए पनि निष्कर्ष निस्कन सकेन। सोमबार पुनः सम्बन्धित पक्ष र स्थानीय तहका प्रतिनिधिसहित छलफल गर्ने सहमति भएको छ।

    घटना के हो ?

    गत शुक्रबार गोदावरी नगरपालिका–४ स्थित बासपानी क्षेत्रमा सडक किनारमा व्यापारका लागि राखिएको टेम्पो वन कार्यालयका कर्मचारीहरूले हटाउने क्रममा भीरबाट तल खसेको थियो। उक्त टेम्पो स्थानीय धनादेवी धामीको परिवारले व्यापारिक प्रयोजनका लागि प्रयोग गर्दै आएको थियो।

    घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो। त्यसपछि प्रहरीले पीडित पक्षसँग जानकारी लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको हो।

    वन कार्यालयको दाबी

    डिभिजन वन कार्यालय धनगढीले भने टेम्पो जानाजान भीरबाट नखसालिएको दाबी गरेको छ। कार्यालयका अनुसार वन क्षेत्र अतिक्रमण हटाउने क्रममा भिरालो भूभागमा सन्तुलन बिग्रिएर टेम्पो तल खसेको हो।

    वन कार्यालयले लामो समयदेखि सार्वजनिक वन क्षेत्र अतिक्रमण गरी अस्थायी संरचना निर्माण गर्ने क्रम चलिरहेको र त्यसलाई हटाउने अभियान अन्तर्गत उक्त टेम्पो हटाउन खोजिएको जनाएको छ। कार्यालयका कर्मचारीहरूले टेम्पो सञ्चालनयोग्य अवस्थामा नभएको दाबी पनि गरेका छन्।

    परिवारको भनाइ

    धामी परिवारले भने टेम्पो प्रयोगयोग्य अवस्थामा रहेको र वन कार्यालयको दाबी वास्तविकतासँग मेल नखाने बताएका छन्। उनीहरूका अनुसार टेम्पो नियमित रूपमा व्यापारिक प्रयोजनमा प्रयोग हुँदै आएको थियो।

    टेम्पो वास्तवमै सञ्चालनयोग्य अवस्थामा थियो वा थिएन भन्ने विषयमा दुवै पक्षका फरक–फरक दाबी आएका छन्। प्रहरीले घटनाको विस्तृत अनुसन्धानपछि वास्तविक अवस्था सार्वजनिक हुने जनाएको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend