काठमाडौं । भारतले नेपाल–भारत सीमा विवाद समाधानका लागि कुनै तेस्रो पक्षको भूमिका स्वीकार्य नभएको स्पष्ट पारेको छ। मंगलबार नयाँदिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधिर जयसवालले नेपाल र भारतबीच रहेका सीमासम्बन्धी विषयहरू द्विपक्षीय संयन्त्रमार्फत समाधान गरिने बताए।
‘सीमासम्बन्धी समस्या समाधानका लागि हामीले द्विपक्षीय संयन्त्र बनाएका छौं। भारत र नेपालबीच रहेका सबै द्विपक्षीय मामिलामा कुनै तेस्रो पक्षको भूमिका छैन,’ उनले भने।
प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको अभिव्यक्तिपछि भारतीय सञ्चारकर्मीहरूले राखेको प्रश्नको जवाफ दिँदै जयसवालले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
प्रधानमन्त्री शाहले संसदमा बोल्दै लिपुलेकलगायत सीमासम्बन्धी विषयमा चीन र बेलायतसँग पनि कूटनीतिक तहमा संवाद भइरहेको बताएका थिए।
‘हामीले भारत र चीनलाई मात्रै होइन, बेलायत सरकारसँग पनि कुरा गरेका छौं। ब्रिटिस इन्डिया छोड्दाको समस्याले अहिलेसम्म असर गरिरहेकाले बेलायतले पनि यसमा सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ प्रधानमन्त्री शाहले संसदमा भनेका थिए।
त्यसै क्रममा उनले ‘भारतले नेपालको मात्रै होइन, नेपालले पनि भारतको भूमि केही स्थानमा मिचेको रहेछ’ भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्रीको उक्त भनाइलाई लिएर संसदभित्र र बाहिर तीव्र आलोचना भईरहेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले प्रधानमन्त्री शाह र नेपालको परराष्ट्र मन्त्रालयको टिप्पणी आफूहरूले ध्यानपूर्वक हेरेको बताए। उनले नेपाल–भारत सीमाको करिब ९८ प्रतिशत भाग निर्धारण भइसकेको दाबी गर्दै बाँकी रहेका केही क्षेत्रमा मात्रै समस्या रहेको उल्लेख गरे।
‘केही स्थानमा गण्डक (नारायणी) नदीको धार परिवर्तनका कारण जटिलता उत्पन्न भएको छ। सीमाका केही क्षेत्रमा अतिक्रमण र नो म्यान्स ल्यान्डसम्बन्धी विषयहरू छन्, जसबारे संयुक्त रूपमा नक्सांकन तथा प्राविधिक काम भइरहेको छ,’ उनले भने।
भारतको यो भनाइलाई प्रधानमन्त्री शाहले सीमा विवाद समाधानमा बेलायतको समेत भूमिका हुनसक्ने संकेत गरेपछि आएको औपचारिक प्रतिक्रियाका रूपमा हेरिएको छ।
.jpg)
