एमालेभित्र खुला विद्रोह

ओलीविरुद्ध एमालेका चार उपाध्यक्षको एउटै स्वर– अब तपाईंबाट पार्टी चल्दैन

ओलीविरुद्ध एमालेका चार उपाध्यक्षको एउटै स्वर– अब तपाईंबाट पार्टी चल्दैन

images
शुक्रवार, जेठ ८ २०८३
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अहिले इतिहासकै गम्भीर आन्तरिक संकटको मोडमा पुगेको छ। केपी शर्मा ओलीको सत्ता बहिर्गमन, चुनावी पराजय र कार्यकर्तामाझ बढ्दो निराशाबीच पार्टीभित्र पहिलोपटक शीर्ष तहकै नेताहरू खुलेर अध्यक्ष ओलीको नेतृत्वमाथि प्रश्न उठाउने अवस्थामा पुगेका छन्।
    शुक्रबार गुण्डुस्थित निवासमा करिब ६ घण्टा चलेको सचिवालय बैठकमा एमालेका चार उपाध्यक्षहरूले ओलीलाई प्रत्यक्ष रूपमा अब तपाईंको नेतृत्वमा पार्टी अघि बढ्न सक्दैन भन्ने निष्कर्ष सुनाए। बैठकमा चर्काचर्की मात्रै भएन, नेतृत्व र पार्टीको भविष्यबारे एमाले स्पष्ट रूपमा दुई धारमा विभाजित भएको संकेत पनि देखियो।
    बैठकको सबैभन्दा शक्तिशाली सन्देश उपाध्यक्ष विष्णु पौडेल बाट आयो। विगतमा ओलीका सबैभन्दा विश्वासिला मानिएका पौडेलले नै अहिलेको संकटको मूल कारण नेतृत्वको शैली भएको निष्कर्ष निकाल्दै ओलीलाई अब मार्गप्रशस्त गर्नुपर्ने प्रस्ताव औपचारिक रूपमा राखे।
    उनले पार्टीको लोकतान्त्रीकरणका नाममा अघि सारिएको ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउनु ऐतिहासिक गल्ती भएको स्वीकार्दै अब त्यो प्रावधान पुनः लागू गर्नुपर्ने बताए। पौडेलको संकेत स्पष्ट थियो- ओलीले अब विश्राम लिनुपर्छ।
    बैठकमा पौडेलसँगै उपाध्यक्षहरू पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण बिष्ट एउटै धारमा उभिए। उनीहरूले पार्टी कमजोर बन्दै गएको, कार्यकर्ता निराश भएको र नेतृत्वको शैलीकै कारण संगठन र जनाधार खस्किएको निष्कर्ष राखे।
    स्रोतका अनुसार बैठकको वातावरण त्यतिबेला झन् तनावपूर्ण बन्यो, जब अध्यक्ष ओलीले अराजकता र पार्टी लाइनविपरीत गतिविधि को संकेत गर्दै असन्तुष्ट नेताहरूलाई अनुशासन र कार्यविभाजनबाट वञ्चित गर्न सकिने चेतावनी दिए।
    त्यसपछि उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ ओलीको प्रतिवादमै उत्रिए। उनले सीधै ओलीतर्फ फर्केर प्रश्न गरे- यो पार्टी तपाईंको प्राइभेट कम्पनी हो ? सहकर्मीहरूसँग मर्यादित ढंगले बोल्न पनि आउँदैन ? बैठकमा सहभागी एक नेताका अनुसार, त्यसपछि केहीबेर ओली र गुरुङबीच भनाभनकै अवस्था सिर्जना भयो। एमालेभित्र लामो समयदेखि दबिएको असन्तोष पहिलोपटक यति खुला रूपमा विस्फोट भएको नेताहरू बताउँछन्।
    ओलीको पक्षमा भने पहिलो वरीयताका उपाध्यक्ष रामबहादुर थापा मात्रै दृढ रूपमा उभिएको देखियो। उनले पार्टी र नेतृत्व आन्तरिक तथा बाह्य षड्यन्त्र को घेरामा परेको दाबी गर्दै संकटका बेला नेतृत्वको रक्षा गर्नु नै पार्टीको कर्तव्य भएको धारणा राखे।
    बादलले “डिप स्टेट”, विदेशी शक्तिको घेराबन्दी र सुरक्षा निकायसम्मलाई जोड्दै एमाले सरकार ढाल्न योजनाबद्ध प्रयास भएको टिप्पणी गरेपछि ओली उत्साहित सुनिएका थिए। उनले बादलको भनाइलाई “यही हो पार्टी लाइन” भन्दै समर्थन जनाएका थिए।
    तर, सचिवालय बैठकले एमालेभित्रको वास्तविक शक्ति सन्तुलन फेरिएको संकेत दिएको छ । ओलीलाई चुनौती दिनेहरू अब तल्लो तहका नेता मात्र छैनन्, महाधिवेशनमा उनलाई जिताउन भूमिका खेलेका शीर्ष नेताहरू नै खुलेर विकल्प खोज्ने अवस्थामा पुगेका छन्।
    २०८२ फागुनको चुनावी परिणामपछि कमजोर बनेको एमाले अहिले वैचारिक, संगठनात्मक र नेतृत्वगत संकटको केन्द्रमा पुगेको छ। पार्टीभित्र रुपान्तरण की नेतृत्व रक्षा को दुई धार स्पष्ट बनेसँगै आगामी दिनमा एमालेभित्रको शक्ति संघर्ष अझ तीव्र हुने संकेत देखिएको छ।
    शनिबार बस्ने सचिवालय बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिव र सचिवहरूले धारणा राख्नेछन्। त्यसपछि एमालेभित्रको संघर्ष केवल बहसमा सीमित रहन्छ कि औपचारिक ध्रुवीकरणतर्फ बढ्छ भन्ने चित्र अझ स्पष्ट हुने अपेक्षा गरिएको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend