काठमाडौं । गत फागुन २१ को निर्वाचनपछि बनेको नयाँ राजनीतिक समीकरण र त्यसबाट उदाएको रास्वपा नेतृत्वको सरकारका लागि भारतसँगको सम्बन्ध अहिले सबैभन्दा संवेदनशील कूटनीतिक परीक्षण बनेको छ । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार गठनपछि छिमेकी भारतसँग अपेक्षित राजनीतिक संवाद अघि बढ्न नसकिरहेका बेला अब परराष्ट्रमन्त्री शिशिर खनालको आगामी भारत भ्रमणलाई नयाँदिल्लीसँग सम्बन्ध ‘रीसेट’ गर्ने पहिलो औपचारिक प्रयासका रूपमा हेरिन थालिएको छ ।
परराष्ट्रमन्त्री खनाल भदौ १८ देखि २१ गतेसम्म भारत भ्रमणमा जाँदैछन् । रास्वपा नेतृत्वको सरकार गठनपछि सरकारका तर्फबाट हुन लागेको यो पहिलो उच्चस्तरीय औपचारिक भारत भ्रमण हो । त्यसैले पनि यसलाई केवल नियमित कूटनीतिक भ्रमणभन्दा बढी अर्थपूर्ण रूपमा व्याख्या गर्न थालिएको छ ।
खनाल भारतमा आयोजना हुने वन्यजन्तु संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय मञ्च ‘बिग क्याट अलायन्स’ सम्मेलनमा सहभागी हुन नयाँदिल्ली जान लागेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने उक्त सम्मेलनमा विभिन्न देशका प्रतिनिधिहरू सहभागी हुनेछन् । तर काठमाडौं र नयाँदिल्ली दुवैतर्फको चासो सम्मेलनभन्दा बाहिर हुने सम्भावित राजनीतिक भेटवार्तामा केन्द्रित देखिन्छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस जयशंकर र वाणिज्यमन्त्री पियुष गोयलसँग ‘वान अन वान’ वार्ताको तयारी भइरहेको छ । भारतीय पक्षबाट मिति र समयको अन्तिम टुंगो लाग्न बाँकी रहे पनि दुवै पक्षबीच अनौपचारिक संवाद जारी रहेको मन्त्रालय स्रोत बताउँछ । यसबीच सम्मेलनस्थलमै प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री खनालबीच संक्षिप्त ‘साइडलाइन’ भेट हुन सक्ने अपेक्षा पनि गरिएको छ ।
मिश्री भ्रमण रद्दपछि बढेको दूरी
परराष्ट्रमन्त्री खनालको भारत यात्रा यस्तो समयमा हुन लागेको हो, जतिबेला दुई देशबीच कूटनीतिक संवादको गति सुस्त देखिएको छ । भारतीय विदेश सचिव विक्रम मिश्रिको गत वैशाख २८ गते नेपाल भ्रमणमा आउने तयारीमा थिए । तर अन्तिम समयमा भ्रमण स्थगित भयो । औपचारिक रूपमा मिति नमिलेको भनिए पनि प्रधानमन्त्री बालेन शाहले द्विपक्षीय भेटवार्तामा रुचि नदेखाएकाले भ्रमण रद्द भएको चर्चा कूटनीतिक वृत्तमा व्यापक रह्यो ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पका विशेष दूत सर्जिओ गोरसँग पनि प्रधानमन्त्री शाहले भेट नगरेपछि सरकारको कूटनीतिक शैलीबारे विभिन्न व्याख्या हुन थालेका थिए ।
यता नयाँ प्रधानमन्त्रीको परम्परागत भारत भ्रमणसमेत अहिलेसम्म तय हुन सकेको छैन । नेपालमा सरकार परिवर्तनपछि भारतीय भ्रमणलाई सामान्यतया राजनीतिक ‘सिग्नल’ का रूपमा हेरिन्छ । तर बालेन नेतृत्वको सरकार बनेको महिनौं बित्दा पनि त्यो प्रक्रिया अघि नबढेपछि दुई देशबीच असहजता बढेको विश्लेषण हुँदै आएको छ । यही कारण अहिले परराष्ट्रमन्त्री खनालको दिल्ली यात्रा केवल सम्मेलन सहभागिता मात्र नभएर सम्बन्ध सुधारको ‘आइस ब्रेकर’ बन्न सक्छ कि भन्ने चासो बढेको हो ।
जयशंकरलाई नेपाल निम्तो दिने तयारी
भ्रमणको अर्को महत्त्वपूर्ण पक्ष भारतीय विदेशमन्त्री जयशंकरलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिने तयारी हो । खनाल र जयशंकरबीच यसअघि मरिससमा संक्षिप्त भेटवार्ता भइसकेको थियो । त्यतिबेला अनौपचारिक रूपमा नेपाल भ्रमणको प्रस्ताव राखिएको थियो । अब दिल्ली भ्रमणका क्रममा त्यसलाई औपचारिक रूप दिने तयारी भइरहेको परराष्ट्र स्रोतले जनाएको छ ।
यदि जयशंकरको नेपाल भ्रमण तय भयो भने त्यसलाई रास्वपा नेतृत्वको नयाँ सरकार र भारतीय संस्थापनबीच सम्बन्ध विस्तारको पहिलो ठोस कूटनीतिक उपलब्धिका रूपमा हेरिनेछ । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार त्यसले भारतीय विदेश सचिव मिश्रीको रद्द भ्रमणपछि देखिएको अनिश्चितता हटाउने मात्र होइन, प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणको बाटोसमेत खोल्न सक्छ ।
“हामी यो भ्रमणलाई सम्बन्ध पुनः सक्रिय बनाउने अवसरका रूपमा हेरिरहेका छौं,” मन्त्रालय स्रोतले भन्यो, “यदि उच्चस्तरीय राजनीतिक संवादको वातावरण बन्यो भने त्यसले प्रधानमन्त्रीस्तरको भ्रमणका लागि पनि आधार तयार गर्न सक्छ ।”
.jpg)
