काठमाडौं । पुरानो बल्खुस्थित एमाले मुख्यालयको खण्डहर परिसरमा आइतबार देखिएको एउटा दृश्यले नेपालको वाम राजनीतिमा नयाँ बहस जन्माइदियो। जसलाई केही महिनाअघि एमालेले औपचारिक रूपमा पार्टीबाहिरको सम्मानित व्यक्तित्व भन्दै सदस्यता नवीकरण गर्न अस्वीकार गरेको थियो, उनै विधादेवी भण्डारीलाई एमालेले ३३औँ मदन–आश्रित स्मृति दिवसको प्रमुख अतिथि बनायो।
यो केवल एउटा औपचारिक निमन्त्रणा थिएन। यो एमालेभित्र बदलिँदो शक्ति–सन्तुलन, संकटमा परेको नेतृत्व, उत्तराधिकारी खोजी र वाम पुनर्गठनको जटिल राजनीतिक संकेत थियो। सबैभन्दा अर्थपूर्ण पक्ष के थियो भने, यो सबै पार्टी अध्यक्ष केपी शर्मा ओली कै सहमतिमा भयो। जसलाई ‘राजनीतिमा फर्कन नहुने’ भनियो, उनलाई नै मञ्चको शीर्ष स्थानमा राखियो ।
अघिल्लो वर्ष एमाले केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गर्दा त्यसको तर्क निकै कडा थियो। पार्टीले भनेको थियो- पूर्वराष्ट्रपति दलभन्दा माथिको संस्था हो, उनलाई फेरि पार्टी राजनीतिमा ल्याउनु गणतन्त्रकै अवमूल्यन हुन्छ। त्यतिबेला एमालेले भण्डारीलाई “सम्मानजनक बहिर्गमन” को भाष्यमा राखेको थियो। तर आइतबार त्यही एमालेले महासचिव शंकर पोखरेलमार्फत उनलाई “कमरेड”, “पूर्वउपाध्यक्ष” भन्दै मञ्चमा स्वागत गर्यो।
राजनीतिमा संकेतहरू प्रायः शब्दभन्दा शक्तिशाली हुन्छन्। र, बल्खुको मञ्चबाट एमालेले एउटा स्पष्ट सन्देश दियो- विद्याको पुनरागमन अब ‘अवैध’ होइन।
किन फेरियो ओलीको मन ?
यो प्रश्न अहिले एमालेभित्र मात्र होइन, समग्र वाम राजनीतिमा चर्चाको केन्द्र बनेको छ। केपी ओलीले लामो समयसम्म पार्टीभित्र वैकल्पिक शक्ति केन्द्र बन्न सक्ने सम्भावनालाई रोक्दै आएका थिए। विशेषगरी विधादेवी भण्डारीको सक्रिय राजनीतिमा फर्कने संकेत देखिएपछि उनले सदस्यता नै निष्क्रिय बनाउने निर्णय गराए। तर अहिले परिस्थिति फेरिएको छ।
जेन–जी आन्दोलनपछि सत्ता गुमाउनु, पछिल्लो निर्वाचनमा एमालेको अप्रत्याशित कमजोर प्रदर्शन, पार्टीभित्र बढ्दो असन्तुष्टि, स्वास्थ्य समस्या र आफ्नै निकट नेताहरूबाट नेतृत्व हस्तान्तरणको दबाब- यी सबैले ओलीलाई रक्षात्मक अवस्थामा पुर्याएको देखिन्छ। एमालेभित्र अहिले खुला रूपमा नेतृत्व परिवर्तनको बहस सुरु भएको छ। उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायत नेताहरूले ओलीलाई अब “सम्मानजनक बहिर्गमन” को संकेत दिइरहेको चर्चा एमाले वृत्तमै भइरहेको छ। यस्तो अवस्थामा ओलीले आफ्ना पुराना विश्वासपात्रमध्ये सबैभन्दा बलियो प्रतीकात्मक व्यक्तित्व- विद्यालाई पुनः नजिक ल्याएका हुन् भन्ने बुझाइ बलियो बन्दै गएको छ।
एमालेभित्र अहिले दुईखाले व्याख्या भइरहेका छन्। पहिलो, ओलीले अन्ततः विद्यालाई आफ्नो राजनीतिक उत्तराधिकारीको रूपमा स्वीकार गर्न थालेका हुन्। दोस्रो, उनी अझै नेतृत्व छोड्ने पक्षमा छैनन्, तर आफ्नै विरुद्ध उठेको असन्तुष्टि व्यवस्थापन गर्न विद्यालाई ‘सन्तुलनकारी शक्ति’ का रूपमा प्रयोग गर्न खोजिरहेका छन्। पार्टीभित्र विष्णु पौडेल र शंकर पोखरेलजस्ता नेताहरूले वैकल्पिक समीकरण बनाउन थालेपछि ओलीले शक्ति सन्तुलनका लागि भण्डारीलाई पुनः सक्रिय बनाएको हुन सक्ने आकलन पनि छ।
राजनीतिक विश्लेषकहरूका अनुसार ओली अहिले “एक्लो शक्तिकेन्द्र” को अवस्थामा छैनन्। त्यसैले उनी अब पूर्ण नियन्त्रणभन्दा “सन्तुलित सहअस्तित्व” को रणनीतितिर गइरहेका हुन सक्छन्।
बल्खुको मञ्चमा विद्याको सन्देश
रोचक के थियो भने प्रमुख अतिथिका रूपमा बोल्दै विधादेवी भण्डारीले नेतृत्व विवादमा प्रत्यक्ष प्रवेश गरिनन्। तर उनले पार्टीलाई “जनताबीच फर्किन”, “जनमुखी कार्यशैली अपनाउन” र “वैचारिक पुनर्जागरण” आवश्यक रहेको सन्देश दिइन्। उनको भाषण संयमित थियो, तर राजनीतिक रूपमा निकै अर्थपूर्ण। किनकि उनले न ओलीको खुला समर्थन गरिन्, न विरोध।
बरु आफूलाई “सम्झौता र पुनर्गठन” को केन्द्रमा राख्ने संकेत दिइन्। यो शैलीले उनलाई एमालेभित्र सबै गुटका लागि स्वीकार्य विकल्पका रूपमा प्रस्तुत गर्ने सम्भावना बढाएको देखिन्छ।
ओली–विद्या सम्बन्ध : तिक्ततादेखि ‘आइसब्रेक’ सम्म
११औँ महाधिवेशनपछि ओली र विद्याबीच दूरी निकै बढेको मानिन्थ्यो। त्यतिबेला भण्डारीनिकट मानिएका इश्वर पोखरेलले अध्यक्षमा ओलीविरुद्ध उम्मेदवारी दिएका थिए। त्यसपछि सदस्यता विवादले सम्बन्ध झन् चिसिएको थियो।
तर पछिल्ला महिनाहरूमा परिस्थिति बदलियो। स्वास्थ्य समस्यापछि अस्पतालमा रहेका ओलीलाई भेट्न विद्या पुगिन्। त्यसपछि गुन्डूस्थित ओली निवासमा लामो छलफल भयो। त्यही संवादपछि सम्बन्धमा ‘आइसब्रेक’ भएको एमाले नेताहरू बताउँछन्।
बल्खुको कार्यक्रम त्यसैको सार्वजनिक अभिव्यक्ति बन्यो। यो घटनालाई एमालेभित्रको आन्तरिक राजनीति मात्र भनेर बुझ्दा अपूरो हुन्छ। किनकि अहिले नेपालका कम्युनिस्ट शक्तिहरू पुनर्गठन र नयाँ ध्रुवीकरणको दबाबमा छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाले वाम एकताको प्रस्ताव अघि बढाइसकेको छ। एमाले पनि निरन्तर कमजोर हुँदै जाँदा वाम ध्रुवीकरणको बहस फेरि तीव्र भएको छ।
यस्तो अवस्थामा विद्या भण्डारी तुलनात्मक रूपमा कम विवादित, भावनात्मक रूपमा स्वीकार्य र विभिन्न वाम घटकबीच संवाद गर्न सक्ने पात्रका रूपमा देखिन थालेकी छन्।
त्यसैले कतिपय विश्लेषकहरू भन्छन्, ओलीले विद्यालाई केवल एमालेभित्रको उत्तराधिकारीका रूपमा मात्र होइन, सम्भावित वाम पुनर्गठनको ‘सेतु’ का रूपमा पनि अगाडि सार्न खोजेका हुन सक्छन्।
अब के हुन्छ ?
अहिलेसम्म औपचारिक रूपमा केही घोषणा भएको छैन। तर बल्खुबाट एउटा राजनीतिक सत्य स्पष्ट भएको छ, एमालेले अब विद्या भण्डारीको पुनरागमन रोक्ने पुरानो अडान छाडेको छ।
अब प्रश्न केवल यति हो, विद्या एमालेको भावी नेतृत्वका लागि तयार हुँदैछिन्, कि ओलीले आफ्नो राजनीतिक बहिर्गमन लम्ब्याउन नयाँ शक्ति-समीकरण बुन्दैछन् ?
जे होस्, बल्खुको मञ्चले एमालेभित्रको शक्ति–राजनीतिमा नयाँ अध्याय सुरु गरिदिएको छ।
.jpg)
