बेनी । म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रवाङमा केही दिनयता रातहरू पहिलेभन्दा फरक देखिन थालेका छन्। पहिले साँझ परेपछि अन्धकारले ढाकिने बस्ती अहिले झलमल्ल उज्यालोले चम्किन्छ। गाउँको बाटो हिँड्नेहरू ढुक्क छन्, बालबालिका निर्धक्क हिँडडुल गर्छन्, अनि चितुवाको त्रास पनि घटेको छ।
यो परिवर्तन कुनै सरकारी ठूलो योजना वा दातृ संस्थाको सहयोगबाट आएको होइन। यो सम्भव भएको हो- एक नवदम्पतीको सोच, संवेदना र सामाजिक जिम्मेवारीबोधका कारण।
हालै विवाहबन्धनमा बाँधिएका कोत्रवाङका प्रकाश खत्री र राधिका धिताल खत्रीले बिहेभोजमा खर्च हुने रकम कटाएर आफ्नै टोलमा सडकबत्ती जडान गरिदिएका छन्।
सामान्यतया विवाहलाई तडकभडक, भोजभतेर र प्रदर्शनसँग जोडेर हेर्ने समाजमा यी दम्पतीले भने फरक उदाहरण प्रस्तुत गरेका छन्। उनीहरूले एक दिनको भोजभन्दा गाउँको दीर्घकालीन आवश्यकतालाई प्राथमिकता दिए। स्थानीयका अनुसार टोल सुधार समिति र बिहानी आमा समूहले नवदम्पतीसमक्ष गाउँमा सडकबत्ती आवश्यक रहेको कुरा राखेका थिए। गाउँमा रातको समयमा अन्धकारका कारण हिँडडुल असहज हुनुका साथै चितुवालगायत वन्यजन्तु बस्तीमा पस्ने समस्या बढिरहेको थियो।
टोल सुधार संस्थाका अध्यक्ष पूर्णबहादुर विश्वकर्माका अनुसार प्रकाश र राधिकाले स्थानीयको आग्रहलाई सकारात्मक रूपमा लिएर व्यक्तिगत खर्चमै सडकबत्ती जडानको सम्पूर्ण सामग्री उपलब्ध गराए।
“उहाँहरूले १४ वटा ३० वाट र तीनवटा ५० वाट क्षमताका सडकबत्ती, तारलगायत आवश्यक सामग्री जुटाइदिनुभयो,” विश्वकर्माले भने, “हामीले अपेक्षा गरेका थियौँ, उहाँहरूले त्यसलाई सामाजिक जिम्मेवारीका रूपमा पूरा गर्नुभयो।” मङ्गला गाउँपालिकाले केही स्थानमा पोल उपलब्ध गरायो भने स्थानीयवासीको सक्रियतामा दुई दिन लगाएर बत्ती जडान गरियो। अहिले सिम, कोत्रवाङ, कुहुँ जाने सडकदेखि काफलचौरको झोलुङ्गे पुलसम्म उज्यालो पुगेको छ।
विशेष कुरा त के भने, जडान गरिएका बत्ती स्वचालित छन्। साँझ परेपछि आफैँ बल्ने र बिहान उज्यालो भएपछि निभ्ने व्यवस्था गरिएको छ।
स्थानीयवासीका अनुसार बत्ती जडान भएपछि गाउँमा ठूलो मनोवैज्ञानिक परिवर्तन आएको छ। पहिले साँझ परेपछि चितुवा बस्ती नजिकै देखिने गरेको थियो। अहिले उज्यालो बढेसँगै वन्यजन्तुको आवतजावत घटेको स्थानीय बताउँछन्।
२२ घरपरिवार रहेको सानो बस्ती कोत्रवाङ अहिले उज्यालो मात्र भएको छैन, एउटा सकारात्मक सन्देशको केन्द्र पनि बनेको छ। प्रकाश खत्रीको परिवार यसअघि पनि सामाजिक काममा सक्रिय रहँदै आएको स्थानीय बताउँछन्। उनका बुबा चित्रबहादुर खत्री र दाजु विकास खत्रीले कोत्रवाङ हुँदै ताराखेत जोड्ने पदमार्ग निर्माणमा योगदान दिएका थिए। अहिले प्रकाश र राधिकाले सडकबत्तीमार्फत त्यो परम्परालाई निरन्तरता दिएका छन्।
यो घटनाले एउटा गम्भीर सामाजिक प्रश्न पनि उठाएको छ- के विवाह केवल प्रदर्शन र खर्चको माध्यम बन्नुपर्छ, कि समाजका लागि केही फर्काउने अवसर पनि ?
नेपालका धेरै ठाउँमा विवाहमा लाखौँ रुपैयाँ भोजभतेर, डिजे, सजावट र तामझाममा खर्च गरिन्छ। धेरै परिवार ऋणसमेत बोकेर सामाजिक प्रतिष्ठाको नाममा खर्च गर्न बाध्य हुन्छन्। यस्तो अवस्थामा कोत्रवाङका नवदम्पतीले देखाएको उदाहरण केवल सडकबत्ती जडानको घटना होइन, यो सामाजिक चेतनाको उज्यालो पनि हो।
उनीहरूले गाउँलाई केवल बत्ती दिएका छैनन्, समाजलाई सोच्ने नयाँ बाटो पनि दिएका छन्।
.jpg)
