काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक तनावग्रस्त बनेको छ। प्रधानमन्त्रीको अनुपस्थितिको विरोध गर्दै नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी सहित चार प्रतिपक्षी दलका सांसदहरूले बिहीबारको संसद बैठक बहिष्कार गरेका छन्।
बैठक बहिष्कार गर्ने दलहरूमा एमाले, नेकपा, श्रम सस्कृति र राप्रपा छन् । एमालेबाहेक अन्य तीन दलका सांसदहरूले बैठक सुरु हुनासाथ बहिष्कार गरेका थिए भने एमाले सांसदहरूले बैठक कक्षमै उभिएर विरोध जनाएका थिए।
प्रतिपक्षी सांसदहरूको नाराबाजी र विरोधकाबीच प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथिको जवाफ प्रस्तुत गरेका थिए। उनको जवाफ सकिएपछि एमाले सांसदहरूले पनि बैठक बहिष्कार गरेका हुन्।
यसअघि प्रतिपक्षीको निरन्तर अवरोधका कारण सभामुख डिपि अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। पुनः बैठक सुरु भएपछि सभामुख अर्यालले प्रधानमन्त्रीले औपचारिक रूपमा आफ्नो तर्फबाट जवाफ दिने जिम्मेवारी अर्थमन्त्रीलाई दिएको जानकारी गराउँदै सांसदहरूलाई बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए। तर प्रतिपक्षी दलहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर संसदलाई जवाफ दिनुपर्ने अडान कायम राखे।
प्रतिनिधिसभाको कार्यसूचीमा सुरुमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने उल्लेख गरिएको थियो। पछि संशोधित कार्यसूचीमा भने प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने व्यवस्था गरिएको थियो।
विपक्षी दलहरूले प्रधानमन्त्री शाह संसदप्रति उत्तरदायी नदेखिएको आरोप लगाएका छन्। उनीहरूले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री संसदबाट बाहिरिएको तथा विपक्षी दलका नेताहरूले सम्बोधन गर्दा समेत अनुपस्थित रहेको विषय उठाउँदै संसदप्रति सरकारको व्यवहारमाथि प्रश्न गरेका छन्।
प्रधानमन्त्री शाह भने संसद बैठक चलिरहेकै समयमा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा रहेका थिए।
.jpg)
