धनगढी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुदूरपश्चिम प्रदेशमा कांग्रेस र एमालेबाहेक अन्य कुनै सत्ता समीकरण बन्ने सम्भावना नरहेको बताएका छन्। उनले मधेश प्रदेशमा पनि हाल कायम सत्ता समीकरणले नै निरन्तरता पाउने दाबी गरे।
शनिबार धनगढीमा आयोजित नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले प्रदेश सरकारको विषयमा अनावश्यक भ्रममा नपर्न नेता–कार्यकर्तालाई आग्रह गरे। उनले सरकार सञ्चालन, नेतृत्व परिवर्तन वा सत्ता साझेदारीका विषय कांग्रेस र एमालेबीचकै समझदारी र छलफलको विषय भएको स्पष्ट पारे।
“अहिले कांग्रेस–एमालेको संयुक्त सरकार छ। त्यसभित्र नेतृत्व आउने–जाने वा सरकार सञ्चालनसम्बन्धी समझदारी दुई दलबीचकै विषय हुन्,” उनले भने, “यस बाहेक अर्को सरकार बन्छ भन्ने अलमलमा रहिरहन आवश्यक छैन।”
कार्यक्रममा सभापति थापाले राष्ट्रियता, सुशासन, अर्थतन्त्र सुधार र राष्ट्रिय हितका विषयमा वर्तमान सरकारलाई कांग्रेसको साथ र सहयोग रहने बताए। तर लोकतन्त्रका आधारभूत मूल्य र संवैधानिक मान्यतामाथि हुने गलत कार्य भने स्वीकार्य नहुने उनको भनाइ थियो।
“राष्ट्रियताका सवालमा कांग्रेसले कहिल्यै दल हेरेर निर्णय गर्दैन,” उनले भने, “तर लोकतन्त्र र संवैधानिक मूल्य कमजोर पार्ने काममा कांग्रेसको समर्थन हुन सक्दैन।”
उनले लोकतन्त्रमा केवल कानुनी वैधता मात्र नभई नैतिक वैधताको पनि उत्तिकै महत्व हुने उल्लेख गरे। विगतमा संवैधानिक परिषद्सम्बन्धी विवादका क्रममा तत्कालीन उपसभामुखविरुद्ध महाअभियोग लगाउने तयारी भए पनि कांग्रेस त्यसको विपक्षमा उभिएको प्रसंग उनले स्मरण गरे।
सभापति थापाले पार्टीभित्र निराशा र पराजित मानसिकता त्यागेर संगठन निर्माणमा सक्रिय हुन नेता–कार्यकर्तालाई निर्देशन दिए। गत निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध असहयोग गर्नेहरूलाई केही समय जिम्मेवारीबाट बाहिर राखिने पनि उनले बताए।
कार्यक्रममा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले पार्टीलाई नयाँ ऊर्जा र दृष्टिका साथ अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। “अब कांग्रेसले नयाँ ढंगले सोच्नुपर्ने समय आएको छ,” उनले भने, “पार्टी मात्र होइन, समाजलाई समेत समेट्ने साझा संगठनका रूपमा अघि बढ्नुपर्छ।”
महामन्त्री गुरुराज घिमिरे ले आग्रह–पूर्वाग्रह त्यागेर पार्टी संगठनलाई एकीकृत र सुदृढ बनाउने बताए। उनले अवसर नपाएर किनारामा परेका सक्षम र निष्ठावान् कार्यकर्ताको उचित मूल्यांकन गरिने उल्लेख गरे।
कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनुपर्नेमा जोड दिए। उनले पार्टीका पूर्वसभापति शेरबहादुर देउवा लगायत नेतृत्वको योगदानको सम्मान गर्न पार्टी नेतृत्वलाई आग्रह गरे।
कांग्रेस कैलालीका कार्यवाहक सभापति खेमराज चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहमहामन्त्री प्रकाश रसाइली स्नेही, उदयशम्शेर राणा, योगेन्द्र चौधरीलगायत नेताहरूले पनि सम्बोधन गरेका थिए। दुईदिने उक्त भेलामा प्रदेशसभा तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूसँग संगठन, सरकार सञ्चालन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जनाइएको छ।
.jpg)
