चिनियाँ राजदूत किन पुग्छन् दिनहुँ सिंहदरवार ?

चिनियाँ राजदूत किन पुग्छन् दिनहुँ सिंहदरवार ?

images
बुधवार, बैशाख १६ २०८३
  • काठमाडौं । प्रधानमन्त्री, मन्त्री, कर्मचारी तथा सेवा ग्राही दिनहुँ सिंहदरवार धाउनु स्वभाविक हो । तर अहिले उनीहरु मात्रै होइन, विभिन्न देशका नेपालस्थित राजदूत, विदेशी नियोगका प्रतिनिधिहरुको पनि दिनहुँ सिंहदरवार आवतजावत बाक्लो छ ।

    राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)ले झण्डै दुई तिहाई बहुमतसहित सिंहदरवारको बागडोर सम्हालेपछि राजदूतहरुको सिंहदरवार दौडधुप तीव्र बनेको छ । यसरी दिनहुँ सिंहदरबारमा म्यारथुन दौड गर्ने राजदूतको सूचीमा चिनियाँ राजदूत पनि अग्र पंक्तिमा छन् । खासगरी अमेरिका, भारत, चीन, स्वीजरल्याण्ड, यूरोपियन युनियन र अष्ट्रेलियन राजदूतहरुको सिंहदरवारमा बाक्लो दौडधुप देखिन्छ । 


    सरकारको नेतृत्व सम्हालेका बालेन्द्र शाह (बालेन)ले निवासबाट मात्र नभई सिंहदरवारबाट पनि त्यसरी राजदूत तथा विदेशस्थित कुटनीतिक नियोगका प्रतिनिधिलाई सिधै भेट नगरेपछि उनीहरु मन्त्री, सभामुख लगायतमार्फत भेटघाट तीव्र बनाउन थालेका छन् । यसैमा चिनियाँ राजदूत पनि पर्छन । खासगरी नेपालको भूमि आफ्नो देशको विरुद्द प्रयोग हुन नदिन चिनियाँ पक्षले नेपाल सरकारलाई चनाखो बनाउन र सम्वन्ध थप विस्तार गर्न यस्ता भेटघाट तीव्र बनाएको देखिन्छ । 


    नेपालमा नयाँ सरकार निर्माण भएसँगै पश्चिमा शक्ति राष्ट्रहरुको प्रभाव बढ्न सक्ने ठानेरै चिनियाँ पक्षले पनि नेपालसँगको सम्वन्धनलाई प्राथमिकताको सूचीमा राखेको देखिन्छ । त्यही अनुसार उसले भेटघाट बढाईरहेको छ । बुधबार मात्रै पनि नेपालस्थित चिनियाँ राजदूत झाङ माओमिंग सिंहदरवार पुगेका थिए । त्यहाँ उनले भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री सुनिल लम्सालसाग भेटवार्ता गरे । यस अगाडी मंगलबार पनि उनी सिंहदरवार पुगेका थिए । 


    बुधबार सिंहदरवार पुगेर उनले भौतिक पूर्वाधार मन्त्रीसँग चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी विषयमा छलफल गरी नेपाली पक्षसँग थप सम्झौतामा हस्ताक्षर गरेका छन् ।  चक्रपथ विस्तार परियोजना कार्यान्वयनका क्रममा देखिने समस्यालाई एक दिनमै समाधान गर्ने र आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता सरकारका तर्फबाट चिनियाँ पक्षसँग व्यक्त गरिएको छ।


    उनले मंगलबार मात्रै पनि सिंहदरवार पुगेर सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका थिए । त्यस अगाडी पनि उनले विभिन्न मन्त्रीहरुसँग भेटवार्ता गरेका छन् । उनको भेटघाटमा खासगरी पूर्वाधारदेखि प्रविधि, ऊर्जा र पर्यटनसम्म सहकार्य विस्तारमा जोड दिने गरी छलफल भईरहेको चिनियाँ राजदूतको अफिसियल्ली फेसबुक पेजमा उल्लेख छ । भौतिक पूर्वाधार, सूचना प्रविधि, शिक्षा, ऊर्जा, पर्यटनलगायत क्षेत्रलाई समेट्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रयास भएको उक्त पेजमा लेखिएको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनासँगको भेटमा सूचना प्रविधि (ICT) क्षेत्रमा सहकार्य गहिरो बनाउने सहमति भएको छ। विशेषगरी मोबाइल पूर्वाधार विस्तार, कृत्रिम बुद्धिमत्ता (AI) र कम्प्युटिङ सेन्टर स्थापना जस्ता क्षेत्रमा सहकार्यका सम्भावनाहरूबारे छलफल भएको छ।
    त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँगको भेटमा शिक्षा, विज्ञान, प्रविधि र युवासँग सम्बन्धित सहकार्य विस्तार गर्ने विषयमा सकारात्मक छलफल भएको छ। दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने साझा प्रतिबद्धता पनि दोहोरिएको छ।
    ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठसँगको भेटमा पारस्परिक लाभका आधारमा व्यावहारिक सहकार्य अगाडि बढाउने विषयमा छलफल भएको छ। विशेषगरी क्षेत्रीय ऊर्जा चुनौतीहरू सामना गर्ने उपायबारे दुवै पक्षबीच विचार आदानप्रदान भएको छ।


    यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलसँगको भेटमा पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्ध मजबुत बनाउने विषयमा सहमति जुटेको छ। चिनियाँ पक्षले नेपालको आर्थिक विकास, पर्यटन प्रवर्द्धन र जनजीविकामा सुधार ल्याउने प्रयासलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको छ।


    समग्रमा, चिनियाँ राजदूतको सक्रिय कूटनीतिक पहलले नेपाल-चीन सम्बन्धलाई परम्परागत पूर्वाधार सहयोगबाट आधुनिक प्रविधि, ऊर्जा सुरक्षा र जनस्तरको सहकार्यतर्फ विस्तार गर्ने संकेत दिएको छ। पछिल्ला भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई थप व्यवहारिक, बहुआयामिक र परिणाममुखी बनाउने दिशा तय गरेको विश्लेषण गरिएको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend