काठमाडौं । फागुन २१ को प्रतिनिधिसभा चुनावपछि झण्डै दुई तिहाई बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बने । गत भदौं २३ र २४ को जेनजी आन्दोलनपछि बालेनको लहरका साथ निर्वाचनमा रास्वपाले जनलहर ल्याएको थियो । पूराना राजनीतिक दलहरु कांग्रेस, एमाले र माओवादी (हालको नेपाली कम्युनिष्ट पार्टी)का नेताहरुले नाताबादलाई प्रश्रय दिए, उनीहरुको सरकारमा भष्ट्राचार मौलायो भन्दै नयाँ दल उदाएका थिए । तर पूराना भन्दा नयाँमा पनि ब्यवहारतः फरकपन भने देखिएको छैन ।
बालेन नेतृत्वको वर्तमान सरकारमा उच्च तहका सल्लाहकार नियुक्तिबारे ‘नातावाद’ (nepotism) को बहस सुरु भएको छ। एउटै क्याबिनेटका प्रधानमन्त्री र मन्त्रीसँग सहोदर दाजुभाइ नै सल्लाहकारको भूमिकामा रहेपछि प्रश्न उठेको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकारका रूपमा कुमार व्यञ्जनकार (बेन) र शिक्षा, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको खेलकुद मन्त्रालयको सल्लाहकारका रूपमा सिद्धि व्यञ्जनकार नियुक्त भएका छन् ।
सिद्धि व्यञ्जनकारलाई चैत १९ गतेदेखि लागू हुने गरी मन्त्री पोखरेलको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको हो। यता, कुमार व्यञ्जनकार प्रधानमन्त्रीका नीतिगत तथा राजनीतिक निर्णयमा प्रभावकारी भूमिकामा छन् । प्रधानमन्त्री बालेन र बालेनका निकट मन्त्री सस्मित पोखरेल दुवै जनाको सल्लाहकारमा दाजुभाई नै नियुक्त भएपछि आलोचना पनि सुरु भएको छ । आलोचकहरूले सरकारमा योग्यता र विज्ञताको आधारभन्दा सम्बन्धलाई प्राथमिकता दिइएको आरोप लगाएका छन्। विशेषगरी, ‘सिस्टम सुधार’को नारासहित सत्तामा आएको टोलीमै यस्ता अभ्यास देखिनु विरोधाभासपूर्ण भएको उनीहरूको तर्क छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सबै नियुक्तिको आधारमा विज्ञता र योग्यता बनाएको थियो। तर सरकार बनेसँगै भइरहेका यी नियुक्तिको आधार विज्ञता र योग्यता भन्दा नाता र सम्वन्धमा खोजेको छ । पूराना भनिएका दलहरुले जस्तै रास्वपाले पनि त्यही पथ दोहोराएको छ । यद्यपि, सरकार पक्षबाट यस विषयमा औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन। सल्लाहकार नियुक्तिमा के आधार अपनाइएको हो भन्नेबारे स्पष्टता नआउँदा पारदर्शिता र उत्तरदायित्वको प्रश्न पनि उठ्न थालेको छ।
.jpg)
