काठमाडौं । गृहमन्त्री सुधन गुरूङले आफूमाथि सम्पत्ति र लगानीसम्बन्धी विवादमा कुरा उठेपछि स्पष्टीकरण दिएका छन् । उनले सम्पक्ति र लगानी सम्वन्धी विवादका बीच अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले यस विषयमा पार्टीले गर्ने निर्णयलाई पनि पूर्ण रूपमा स्वीकार गर्ने बताएका छन्।
विवादित पृष्ठभूमिका व्यवसायी दिपक भट्टसँग आफ्नो नाम जोडिएपछि सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै गुरूङले आरोप र वास्तविकता फरक कुरा भएको जिकिर गरे। “निर्णय भावना वा हल्लाका आधारमा होइन, प्रमाणका आधारमा हुनुपर्छ,” उनको भनाइ छ।
उनले थपे, “पार्टीले जे निर्णय गर्छ, म त्यसको पूर्ण पालना गर्छु। साथै, अनुसन्धान प्रक्रियामा आवश्यक सबै सहयोग गर्न तयार छु।”
गुरूङले हाल उठिरहेका प्रश्नहरूलाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै प्रमाणबिना निष्कर्षमा पुग्न नहुने धारणा राखेका छन्। शहीदहरूको बलिदान र हालैका जनआन्दोलनहरूको मर्म सम्झँदै उनले जिम्मेवार ढंगले विषयलाई हेर्न आग्रह पनि गरेका छन्।
‘ऋणबाट जुटाएको रकम, बैंकिङ रेकर्डमै स्पष्ट’
सेयर लगानीको स्रोतबारे स्पष्ट पार्दै गृहमन्त्री गुरूङले आफूले गरेको लगानी ऋण (कर्जा) मार्फत जुटाएको दाबी गरेका छन्। उनका अनुसार सो रकम बैंकिङ प्रणालीमार्फत आएको हुँदा यसको सम्पूर्ण विवरण ट्रेस गर्न सकिने जनाएका छन् ।
“बैंकबाट गएको पैसाको पूरा हिसाब हुन्छ, कहिले गयो, कहाँ गयो, कसलाई गयो भन्ने सबै देखिन्छ। यस्तो पारदर्शी हिसाब भएको रकम लुकाउन सम्भव छैन,” उनले बताएका छन्।
उनले २०८० भदौ २९ गतेको लिखित तमसुकमार्फत ऋण लिएको उल्लेख गर्दै उक्त रकम नै लगानीमा प्रयोग गरिएको स्पष्ट पारे। “यो अनुमानको विषय होइन, कागजात र बैंक रेकर्डले पुष्टि गर्ने कुरा हो,” गुरूङको भनाइ छ।
.jpg)
