गृहमन्त्री गुरूङमाथि छानबिनको माग, कांग्रेसले उठायो नैतिकताको प्रश्न

गृहमन्त्री गुरूङमाथि छानबिनको माग, कांग्रेसले उठायो नैतिकताको प्रश्न

images
सोमवार, बैशाख ७ २०८३

  • काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङको सम्पत्ति स्रोतबारे उठेका विवादका बीच तत्काल स्वतन्त्र छानबिन सुरु गर्न सरकारसँग माग गरेको छ।
    पार्टीका प्रवक्ता देवराज चालिसे ले जारी गरेको प्रेस विज्ञप्तिमा गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले “राजनीतिक नैतिकता र पारदर्शिता” माथि गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ। कांग्रेसले ढिलाइ नगरी स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिएको छ।
    विज्ञप्तिमा भनिएको छ, अनुसन्धान प्रभावित हुने सम्भावना रहेकाले पदमा रहँदै छानबिन गर्नु उपयुक्त नहुने भन्दै गुरूङको ढाकछोपले आघात पुर्‍याउने स्पष्ट धारणा राखिएको छ। “ढाकछोप वा प्रभाव पार्ने कुनै पनि प्रयासले जनविश्वासमा गम्भीर आघात पुर्‍याउनेछ,” कांग्रेसको चेतावनी छ।

    रास्वपाभित्र पनि छलफल, सभापतिद्वारा सोधपुछ
    उता राष्ट्रिय स्वतन्त्र पार्टी भित्र पनि गृहमन्त्रीको विषयलाई लिएर गम्भीर छलफल सुरु भएको छ। पार्टी सभापति रवि लामिछानेले गुरूङलाई आफ्नै निवासमा बोलाएर सम्पत्ति र सेयर लगानीबारे सोधपुछ गरेका छन्।
    स्रोतका अनुसार गुरूङले आफूले वैध आयस्रोतबाटै सेयर खरिद गरेको दाबी गर्दै बैंकिङ विवरणसमेत प्रस्तुत गरेका छन्। यद्यपि, पार्टीको अनुशासन आयोगले यस विषयमा थप अध्ययन गरिरहेको छ र केन्द्रीय समिति बैठकमा पनि यो मुद्दा प्रमुख एजेन्डा बन्ने संकेत देखिएको छ।

    सेयर कारोबार र सम्पत्ति विवरणमा प्रश्न
    गृहमन्त्री गुरूङले गृहमन्त्री बन्नुअघि करिब ५० दिनको अवधिमा ५३ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद गरेको विवरण सार्वजनिक भएपछि विवाद चुलिएको हो। साथै, सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ परेका व्यवसायी दीपक भट्ट समूहसँग सम्बन्धित कम्पनीहरूमा समेत उनको ५० लाख रुपैयाँ बराबरको संस्थापक सेयर रहेको खुलेको छ।
    तर, उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा यी सबै सेयर स्पष्ट रूपमा खुलाइएको छैन। यसले पारदर्शितामाथि थप प्रश्न उठाएको छ।

    अनुसन्धानमा प्रभाव पर्ने आशंका
    कांग्रेसले मात्र होइन, स्वयं रास्वपाभित्र पनि गृहमन्त्री पदमै रहँदा अनुसन्धान प्रभावित हुन सक्ने आशंका व्यक्त भइरहेको छ। त्यसैले निष्पक्ष छानबिन सुनिश्चित गर्न पदबाट अलग हुनुपर्ने दबाब बढ्दै गएको छ।
    गृहमन्त्री गुरूङको सचिवालयले भने उनीमाथि उठेका प्रश्नहरूको जवाफ दिने तयारी भइरहेको र कुनै गैरकानुनी काम नगरेको दाबी गरेको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend