काठमाडौँ । प्रतिनिधिसभाको तेस्रो दल नेकपा (एमाले) ले बैशाख १२ गते काठमाडौंमा आयोजना गर्न लागेको केन्द्रीय जनप्रर्दशनका कार्यक्रम स्थगित गरेको छ । अध्यक्ष केपी ओलीको पक्राउको विरोधमा एमालेले बैशाख १२ मा काठमाडौंमा जनप्रर्दशन गर्ने कार्यक्रम तय गरेको थियो ।
यधपी, अहिले पार्टीका अध्यक्ष ओली अदालतको परमादेशका आधारमा रिहा भईसकेको र यस अगाडी घोषणा गरिएको कार्यक्रमलाई स्थगित गरेको जनाएको छ ।
एमाले मुख्यालय च्यासल ललितपुरमा आज बसेको पार्टीको केन्द्रीय कार्यालयको बैठकले यसअघि घोषणा गरिएका आन्दोलनका कार्यक्रमलाई स्थगन गर्दै पार्टी स्थापना दिवसका दिन बैशाख ९ मा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको हो ।
महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी स्थापना दिवसमा विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गर्नुका साथै पार्टीको यसअघि निर्धारित केही कार्यक्रमलाई संशोधनको निर्णय गरेको हो ।
बैठकले सबै जिल्ला कमिटीहरूले यही वैशाख ९ गते सबै जिल्लामा अनिवार्य रूपमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार, उपत्यकाको हकमा वैशाख ९ गते दिउँसो २ बजे केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरिनेछ ।
बैठकले पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीको सन्दर्भमा यही वैशाख ७ र १२ गते गर्नेगरी तय भएका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । अध्यक्ष ओलीले सर्वोच्च अदालतको आदेशमा गत चैत २६ गते हाजिरी जमानीमा रिहा भएपछि एमालेले आन्दोलनका कार्यक्रम स्थगन गरेको हो ।
.jpg)
