काठमाडौं । कांग्रेसभित्रको विवाद फेरि चर्किएको छ । विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भई निर्वाचन आयोगले उनको नेतृत्वलाई वैधानिकता दिए पनि पार्टीको आधिकारिकता सम्बन्धी विवाद अझै सर्वोच्च अदालतमा विचाराधीन छ । यही पृष्ठभूमिमा बुधबार नेपाली कांग्रेसको अनुशासन समितिले निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । पार्टीको आधिकारिक लेटरप्याड प्रयोग गरेर आफू कार्यवाहक सभापति भएको दाबी गर्दै विज्ञप्ति जारी गरेको आरोपमा उक्त निर्णय गरिएको हो ।
तर खड्काले उक्त निर्णय अस्वीकार गर्दै आफू नै वैधानिक कार्यवाहक सभापति रहेको दाबी गरेका छन् । उनले भने, “मलाई स्पष्टीकरण सोध्ने कुरा हास्यास्पद र निरर्थक छ । सर्वोच्च अदालतमा दायर मुद्दा विचाराधीन अवस्थामा रहेकाले त्यसको अन्तिम फैसला नभएसम्म मेरो हैसियत कसैले खोस्न सक्दैन ।” उनले आफूले प्रयोग गरेको लेटरप्याड पनि आधिकारिक नै भएको जिकिर गरेका छन् ।
यसअघि पनि अनुशासन समितिले खड्कालाई यस्तै विषयमा सचेत गराएको थियो । तर त्यसपछि पनि उनले विभिन्न घटनामा, विशेषगरी नेता रमेश लेखक पक्राउ प्रकरणमा वक्तव्य जारी गर्दै आएका थिए । अनुशासन समितिले भने नक्कली लेटरप्याड प्रयोग गरी आफू नभएको जिम्मेवारी उल्लेख गर्दै विज्ञप्ति जारी गर्नु पार्टी विधानविपरीत भएको ठहर गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको जनाएको छ ।
पार्टीभित्र केही नेताहरूले संवादमार्फत विवाद समाधान गर्न सुझाव दिए पनि हालको अवस्था हेर्दा विवाद झन् गहिरिँदै जाने संकेत देखिएको छ । संस्थापन पक्षले खड्कामाथि कारबाही प्रक्रिया अघि बढाएपछि कांग्रेसभित्रको शक्ति संघर्षले नयाँ मोड लिने र थप तनाव उत्पन्न हुने आँकलन गरिएको छ ।
.jpg)
