आठ दिनमै संसद अधिवेशन अन्त्य

आठ दिनमै संसद अधिवेशन अन्त्य

images
बिहिवार, चैत्र २६ २०८२
  • काठमाडौं। नयाँ सांसदको आगमनसँगै सुरु भएको संघीय संसद्को अधिवेशन आठ दिनमै टुंगिने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसअनुसार संघीय संसद्को दुवै सदनको चालु अधिवेशन भोलि शुक्रबार मध्यरातबाट लागु हुनेगरी अन्त्य गरेका छन्।


    राष्ट्रपति कार्यालयका अनुसार चैत २७ गते राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो। यो निर्णय मन्त्रिपरिषद्को चैत २४ गतेको सिफारिसमा आधारित रहेको जनाइएको छ। संविधानको धारा ९३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरिएको राष्ट्रपति कार्यालयले स्पष्ट पारेको छ।


    आठ दिनको ‘कार्यसूची’
    चैत १९ गतेबाट सुरु भएको अधिवेशनमा छोटो समयमै केही महत्वपूर्ण काम सम्पन्न भएका छन् । प्रतिनिधिसभाले सभामुख चयन गरिसकेको छ । राष्ट्रियसभाले रिक्त उपाध्यक्ष चयन गरेको  छ । अधिवेशनको अन्तिम दिन भोलि प्रतिनिधिसभाले उपसभामुख चयन गर्ने कार्यसूची छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनपछिको पहिलो अधिवेशनको अवसरमा संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ। संविधानअनुसार नयाँ संसद गठनपछिको पहिलो बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था छ। यसरी जम्मा आठ दिनको अवधिमा संसदले आफ्नो प्रारम्भिक संरचना तयार पारेको छ।

    किन छोटो बनाइयो अधिवेशन ?
    सरकारले अब छिट्टै बजेट अधिवेशन बोलाउने तयारीमा छ। संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था भएकाले चालु अधिवेशन लामो समयसम्म नलम्ब्याइएको बुझिएको छ। राजनीतिक रूपमा पनि यो अधिवेशन ‘संरचना निर्माण’मै सीमित राखेर आगामी अधिवेशनलाई बजेट केन्द्रित बनाउने रणनीति देखिन्छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend