रास्वपामा ‘राइट टु रिकल’को प्रयोग

श्रममन्त्री साह दुई सातामै पदमुक्त

श्रममन्त्री साह दुई सातामै पदमुक्त

images
बिहिवार, चैत्र २६ २०८२
  • काठमाडौं । सत्ताको गलैँचामा देखिने चमक कहिलेकाहीँ निजी स्वार्थको छायाँले धमिलिन्छ । यस्तै एउटा प्रकरणले बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह को मन्त्री पद गुमेको छ।
    प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को औपचारिक सिफारिसका आधारमा साहलाई पदमुक्त गरेका हुन्।

    dipak-kumar-shah-1024x500.jpg


    रास्वपाले प्रधानमन्त्रीसमक्ष पठाएको पत्रअनुसार मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गर्दै आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डमा सदस्यका रूपमा सक्रिय गराएका थिए । उक्त आरोप सार्वजनिक सञ्चारमाध्यममा समाचारका रुपमा आएपछि र त्यससम्वन्धी आरोप लागेपछि रास्वपाको अनुशासन समितिले यसबारेमा अनुसन्धान गरेको थियो । 
    पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई पठाएको सिफारिस पत्रमा यस्तो कार्यले पार्टीको “छवि, आदर्श, सिद्धान्त र मर्यादामा गम्भीर आँच पुगेको” उल्लेख गरिएको छ।

    rabi0sah_JPUYK9hYzj.jpg


    पत्रमा पार्टी विधानको धारा २५(४)(क) अनुसार सभापतिले पार्टीको मर्यादा जोगाउने जिम्मेवारी रहेको र धारा ६९ अनुसार “राइट टु रिकल” प्रयोग गर्दै जिम्मेवारीबाट फिर्ता बोलाउन सकिने प्रावधानसमेत उल्लेख गरिएको छ।
    यसअघि रास्वपाको केन्द्रीय अनुशासन आयोगले विस्तृत अध्ययनपछि मन्त्री साहमाथि कारबाही आवश्यक ठहर गरेको प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको थियो।
    प्रतिवेदनमा पारिवारिक लाभका लागि पदको प्रयोग भएको,  पार्टी नीति र मूल्यविपरीत आचरण देखिएको, सार्वजनिक विश्वासमा असर पर्ने अवस्था सिर्जना भएको जस्ता गम्भीर निष्कर्षहरू उल्लेख छन्। 
    सोही प्रतिवेदनका आधारमा सभापति लामिछानेले प्रधानमन्त्रीलाई औपचारिक सिफारिस गरेका थिए।

    anusasan_idOG2hGJnT.jpg


    सिफारिस प्राप्त भएपछि प्रधानमन्त्री शाहले ढिलाइ नगरी बिहीबार नै मन्त्री साहलाई पदमुक्त गर्ने निर्णय गरेका हुन्। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार “पार्टीको सिफारिस र प्राप्त विवरणका आधारमा निर्णय गरिएको” हो।
    अर्को मन्त्रीलाई पनि चेतावनी
    यही प्रकरणमा रास्वपाले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई समेत जिम्मेवारी निर्वाहमा अपेक्षित गम्भीरता नदेखाएको भन्दै सचेत गराउन सिफारिस गरेको थियो।
    प्रधानमन्त्री शाहले उक्त सिफारिस अनुसार मन्त्री मेहतालाई चेतावनी दिइसकेको जानकारी स्रोतले दिएको छ। 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend