काठमाडौं । अघिल्ला सरकार गठन भएलगत्तै प्रधानमन्त्री भेट्न हतारिने नेपालस्थित विदेशी राजदूतहरुले औपचारिक रुपमा अहिलेसम्म प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भेट गर्न पाएका छैनन ।
भारतीय राजदूत नबिन श्रीवास्तवले बालेन प्रधानमन्त्री भएलगत्तै भेट गर्ने अनेक प्रयास गरेपनि सफल हुन सकेका थिएनन । प्रधानमन्त्री बालेनले आफुसँग भन्दा कामको इस्यु अनुसार सम्वन्धित मन्त्रालयका मन्त्रीलाई भेट्न सुझाएपछि विदेशी राजदूतहरुले प्रधानमन्त्री भेटन पाएका थिएनन ।
अघिल्ला सरकारका प्रधानमन्त्रीले भने विदेशी राजदूतहरुले भेट्न चाहँदा सहज भेटघाट मिलाइदिने गरेका थिए । तर बालेनले भने औपचाकिर रुपमा अहिले त्यसरी आफुले राजदूतहरुसँग भेट नगर्ने आफ्नो सचिवालयमार्फत ती राजदूतावासमा सन्देश पठाएका थिए ।
एक्लै कुनैपनि राजदूतसँग अफिसियल्ली भेट नगरेका प्रधानमन्त्रीले आज बुधबार भने नेपालमा रहेका सबै जसो देशका राजदूतलाई सामुहिक भेटका लागि बोलाएका छन् । उनले मध्यान्ह्र १२ बजे सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा राजदूतहरुसँग सामुहिक भेटवार्ता गर्न लागेका हुन् ।
त्यस भेटमा पनि उनले आफुलाई भन्दा काम पर्ने सम्वन्धित मन्त्रालयका मन्त्रीलाई भेट्न आग्रह गर्ने तयारी छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बुधबार (आज) बिहान १२ बजे प्रधानमन्त्री बालेनले विभिन्न मुलुकका राजदूतहरूसँग सामूहिक भेट गर्ने गरी कार्यक्रम बनेको छ ।
नयाँ सरकार बनेयता भारतीय राजदूतले भने दुई जना मन्त्रीसँग भेट गरेका छन् । अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेका छन् । उनले प्रधानमन्त्री भेट्न नपाएपछि भारतीय राजदूत नबिन श्रीवास्तवले नयाँ सरकार बनेको तीन दिनमै अर्थमन्त्री वाग्लेसँग भेट गरेका थिए । त्यस्तै सोमबार परराष्ट्रमन्त्री खनालसँग भेट गरेका थिए ।
चिनियाँ राजदूत चाङ माओमिङले पनि मंगलबार परराष्ट्रमन्त्री खनालसँग भेट गरेका छन् । यो भेटमा चिनियाँ राजदूतले नेपालका परराष्ट्र मन्त्रीलाई चीन भ्रमणको निम्तो दिएको बताइएको छ ।
.jpg)
