एमालेमा विशेष महाधिवेशनको माग चर्कियो, हस्ताक्षर अभियान सुरु

एमालेमा विशेष महाधिवेशनको माग चर्कियो, हस्ताक्षर अभियान सुरु

images
शनिवार, चैत्र २१ २०८२
  • काठमाडौं । नेकपा (एमाले) भित्र विशेष महाधिवेशनको माग उठाउँदै हस्ताक्षर अभियान सुरु गरिएको छ। फागुन २१ को चुनावमा नराम्ररी चुनावी हारको धक्का ब्यहोरेपछि पार्टीभित्रको असन्तुष्टि र नेतृत्वप्रति बढ्दो असहमति चर्केको छ । यहीबीच एमालेभित्र विशेष महाधिवेशनको नयाँ बहस जन्मिएको छ।

    पार्टीका केही नेता तथा कार्यकर्ताहरूले विधानअनुसार विशेष महाधिवेशन बोलाउनुपर्ने माग राख्दै देशभर हस्ताक्षर संकलन सुरु गरेका छन् । उनीहरूको तर्क छ- पार्टी नेतृत्व, कार्यशैली र निर्णय प्रक्रियामा सुधार आवश्यक भएकाले विशेष महाधिवेशन अपरिहार्य भएको हो।

    हस्ताक्षर अभियान सञ्चालनमा रहेका नेताहरूले पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर भएको, नेतृत्वमा केन्द्रीकरण बढेको तथा संगठनात्मक संरचना प्रभावकारी नदेखिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार विशेष महाधिवेशनमार्फत नीति, नेतृत्व र कार्यदिशामा पुनरावलोकन आवश्यक छ।

    अभियानमा संलग्नहरू भन्छन्, “पार्टीलाई सुदृढ बनाउन र कार्यकर्ताको भावना सम्बोधन गर्न विशेष महाधिवेशन आवश्यक भएको हो।”

    एमालेको पार्टी विधान–२०४९ को धारा ७३ मा दुई तिहाइ जिल्ला कमिटी अथवा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधिले लिखित रुपमा माग गरे ६ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने व्यवस्था छ । पार्टी विधानअनुसार निश्चित संख्यामा प्रतिनिधिहरूको समर्थन जुटेमा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेको छ। त्यसैअनुसार आवश्यक हस्ताक्षर संकलन गरी औपचारिक रूपमा पार्टी नेतृत्वसमक्ष पेश गर्ने तयारी भइरहेको बताइएको छ।

    यस्ता अभियानहरू विगतमा पनि विभिन्न दलहरूमा देखिँदै आएका छन्, जहाँ आन्तरिक विवाद र नेतृत्वप्रति असन्तुष्टिले विशेष महाधिवेशनको माग जन्माउने गरेको छ।

    uml-bidhan-mahadhibesan.jpg

    हस्ताक्षर अभियानबारे पार्टीको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन। नेतृत्व पक्षले यस विषयमा औपचारिक प्रतिक्रिया नदिए पनि आन्तरिक रूपमा यसलाई गम्भीर रूपमा लिइएको बताइन्छ।

    विशेष महाधिवेशनको मागसँगै एमालेभित्र नेतृत्व, संगठन र भावी रणनीतिबारे नयाँ बहस सुरु भएको छ। केही नेताहरूले यसलाई आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा लिएका छन् भने केहीले भने पार्टी एकतामाथि असर पर्ने चिन्ता व्यक्त गरेका छन्।

    कांग्रेसमा विशेष महाधिवेशन पछि पार्टी आन्तरिक विवादको चक्रमा छ । एमालेभित्र पनि विशेष महाधिवेशनको चक्रले पार्टीभित्र नयाँ शिरामा विवाद बल्झने देखिएको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend