काठमाडौं । अघिल्लो संसदमा ढोक्सा शब्दको निकै प्रयोग भयो । यो शब्दलाई संसदमा प्रवेश गराएका हुन्– एमालेका तत्कालिन संसदीय दल नेता तथा पार्टी अध्यक्ष केपी ओलीले ।
तत्कालिन माओवादी (हालका नेकपाका संयोजक) प्रचण्ड थिए सरकारको नेतृत्वमा । एमाले र माओवादी बीच सरकार गठन भएको थियो । अहिलेको सत्तारुढ दल रास्वपा पनि त्यही सरकारमा थियो । कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतका दल चुनावी गठबन्धन गरेर चुनाव लडेर प्राप्त नतिजापछि प्रचण्डलाई कांग्रेसले प्रधानमन्त्री बनाउन रुचाएन । त्यसपछि प्रचण्ड ब्रुकुर्सी मारेर एमाले अध्यक्ष ओली कहाँ पुगेपछि नयाँ समिकरण बनेको थियो ।
त्यो समिकरणबाट त्यसबेला संसदको तेस्रो दल ततकालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।
तर कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने निर्णय लियो । त्यसपछि ओलीले संसदमा सम्बोधनका क्रममा भने कांग्रेसले ढोक्सा थाप्न खोज्यो । सत्ता गठबन्धनलाई भत्काएर अस्थिरता मच्चाउन कांग्रेसले त्यसो गर्न खोजेको आरोप ओलीको थियो ।
भर्खर प्रधानमन्त्री प्रचण्ड चयन भएर नयाँ सरकार निर्माण भएको थियो । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हुन बाँकी थियो । ओलीलाई डर थियो कतै माओवादी, फेरि कांग्रेससँगै टासिन पुग्ने त होइन ? कांग्रेसले प्रधानमन्त्री बन्ने बेला प्रचण्डलाई स्वीकार नगर्ने, प्रचण्ड एमालेको साथमा प्रधानमन्त्री बनेपछि फेरि राष्ट्रपति आफुले पाउन कांग्रेसले विश्वासको मत प्रचण्डलाई दिएर राष्टपति पदको ढोक्सा थाप्न खोजेको त होइन ?
‘कांग्रेस हो, उसले सरकारलाई विश्वास गरेको मान्न सकिँदैन। मैले त्यतिबेलै भनेको थिएँ, मतदान गरेको भए त ठिकै हो तर ढोक्सा थापेको हो भने गलत हो। ढोक्सा बेलुका थापिन्छ, अँध्यारोमा माछा मार्ने प्रयास गरिन्छ, बिहान भएपछि रित्तो ढोक्सा बोक्यो, फर्कियो। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा खिचलो गर्ने उसको उद्देश्य देखिन्छ,’ ओलीले भनेका थिए ।
प्रचण्ड प्रधानमन्त्री भएपनि एमालेले प्रचण्डलाई पिँजडामा राखेको कांग्रेसको आरोपको थियो । नभन्दै पछि ढोक्सा नै सही प्रचण्डले राष्ट्रपति चुनावमा नयाँ चाल चाले । कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बने । एमालेको पिजँडाबाट प्रचण्ड बाहिर निस्के ।
ठिक त्यस्तै ढोक्सा अहिले कांग्रेस, एमाले, नेकपा, श्रम सस्कृति र राप्रपासम्मले संसदको बलियो दल रास्वपासँग थाप्न खोज्दैछन् ।
सभामुखमा रास्वपाका उम्मेदवारलाई निर्विरोध हुन दिएर उपसभामुखमा यी सवै दलले रास्वपासँग ढोक्सा थाप्न खोजेका छन् । रास्वपाले जुन दललाई उपसभामुख स्वीकार गर्छ, उसैले उपसभामुख जित्ने छ । यसमा अन्य दलको केही जोर चल्ने छैन ।
सभामुख एउटा दलको भएपछि उपसभामुख अर्काे दल र विपरित लिंगीको हुनुपर्ने संवैधानिक ब्यवस्था छ । संसदमा रास्वपा एक्लैको झण्डै दुई तिहाई (१८२) सिट छ । सोही कारण पनि रास्वपाले जुन दललाई उपसभामुख दिन चाहान्छ, उसैले उक्त पद पाउने छ ।
यस अर्थमा रास्वपाको नजिक हुने र उपसभामुख आफ्नो दलको पोल्टामा पार्ने कोसिसमा अहिले कांग्रेस, एमाले, नेकपा, श्रम सस्कृति देखि राप्रपासम्म लागेको छ ।
अझ बढी नेकपा, श्रम सस्कृति र राप्रपा यो कोसिसमा अग्रस्थानमा देखिन्छन् । श्रम सस्कृतिले उपसभामुखमा आफनो दलको दावी रहने बताएको छ । संसदको पहिलो अधिवेशनको दिन प्रधानमन्त्री बालेन शाहले श्रम सस्कृतिका अध्यक्ष सेमत रहेका दल नेता हर्क साम्पाङलाई आफनो नम्बर नै आफैले मोवाइलमा सेभ गरिदिएर नजिक तुल्याउन खोजेका थिए । संसदमै सन्तुलित र रास्वपा नेता रिझाउने मन्त्रब्य दिएर नेकपाले पनि उपसभामुखमा आफनो दललाई सहयोग गर्न घुमाउरो प्रस्ताव पठाईसकेको छ ।
राप्रपा दल नेता ज्ञानेन्द्र शाहीले त शनिबार मात्रै पनि रास्वपा सभापति रवि लामिछानेसँग उनकै निवास पुगेर एक घण्टा लामो सम्वाद नै गरिसकेका छन् । यसैले रास्वपा फकाउने र उपसभामुख उछ्ट्यिाउने दाउमा अहिले दलहरु लागेका छन् ।
रास्वपाको रोजाईंमा सबैभन्दा पर्दे नपर्ने सम्भाबना बोकेको दल भने नेकपा एमाले हो । उसले रास्वपालाई हेर्ने दृष्टिकोण तितो छ । संसद अधिवेशनको पहिलो दल एमाले दल नेताले संसदमा गरेको सम्बोधनले रास्वपालाई विझाएको छ ।
एमाले रास्वपा टक्कर पेचिलो रहेकोले पनि एमालेले रास्वपाको साथ पाउने सम्भाबना करिव छैन । कांग्रेसलाई पनि रास्वपाले अहिले उपसभामुख दिएर आफुसँग नजिक ल्याउन चाहेको देखिदैन । कांग्रेसमा पुस्तान्तरणको नारासहित विशेष महाधिवेशनबाट निर्वाचित भएर आएका गगन थापा पक्षले रास्वपासँग उपसभामुख मागेर लिने सम्भाबनाप नि त्यक्ति बलियो छैन ।
यस अर्थमा नेकपा, श्रम संस्कृति र राप्रपामध्येबाटै एउटा दलले उपसभामुख पाउने देखिन्छ । स्वतन्त्र सांसद महाबीर पुनले चाहेमा उनले पनि उक्त पद पाउने देखिन्छ । तर उनले राजनीति आफ्नो पेशा नभएको र बाध्यताले मात्रै संसदमा आईपुगेको भन्दै उपसभामुखमा आफ्नो चासो नरहेको सञ्चारकर्मीहरुसँग बताईसकेका छन् ।
यस अर्थमा नेकपा, श्रम सस्कृति र राप्रपामध्ये एउटा दलले रास्वपाको सहयोगमा उपसभामुख पाउने छ । यसमध्ये पनि औपचारिक सहयोगको प्रस्ताव राप्रपाले शनिबार (आजै) मात्र रास्वपा सभापति रवि लामिछानेलाई भेटेर मागेको छ । अन्य दुई दलले आश गरेको छ, तर औपचारिक प्रस्ताव नै भने गरिसकेको देखिन्न ।
प्रधानमन्त्री बालेनको रोजाई फेरि नेकपा छैन । उनको रोजाई पहिलो नम्बरमा हर्क साम्पङको श्रम सस्कृति र त्यसपछि मात्रै राप्रपा रहेको बताइन्छ । तर रास्वपा सभापति रवि लामिछाने भने नेकपा, श्रम सस्कृति र राप्रपा तिनै दलसँग उत्तिकै समदुरी सम्वन्धमा देखिन्छन् ।
उपसभामुख पद यसकारण पनि महत्वपूर्ण छ की उपसभामुख हुने ब्यक्ति संविधानतः संवैधानिक परिषद्को सदस्य हुन्छ । संवैधानिक परिषद् सदस्य हुँदा आफनो भागवन्डा संवैधानिक नियुक्तिहरुमा खोज्न सकिने देखेरै त्यो खालको रणनीतिमा अन्य साना दलहरु लागिपरेका हुन् ।
यही बुझेरै रास्वपाले भने कुन दललाई उपसभामुख दिँदा आफुलाई सजिलो हुन्छ, त्यही हेरेर तौलिने प्रयास गरिरहेको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्मा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीस, प्रमुख प्रतिपक्षी दलको नेता र उपसभामुख हुने ब्यवस्था छ । अहिले प्रधानमन्त्रीसँग सभामुख आफनो दलबाट भएपनि राष्ट्रिय सभा अध्यक्ष नेकपा, प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रधानन्यायाधीस (हुनेवाला) पनि आफ्नो पक्षमा हुने अवस्था छैन । यस अर्थमा फेरि त्यसमा श्रम सस्कृति वा राप्रपालाई लिएर ती दललाई पनि भागवन्डामा साथ लिने वा नेकपालाई लिएर भागवन्डामा सहजता खोज्ने भन्नेमा रास्वपा अहिले जोखाना हेरिरहेको छ ।
यस अर्थमा पनि अघिल्लो संसदमा कांग्रेसले भनेझै रास्वपा अन्य दललाई पिँजडामा पार्ने र अन्य साना दल रास्वपासँग ढोक्सा थाप्ने काममा लागिपरेका छन् ।
रास्वपा सभापति रवि लामिछानेले पहिला सभामुखको निर्वाचन प्रक्रिया सम्पन्न भएपछि मात्र उपसभामुखको बारेमा छलफल अगाडि बढ्ने बताएका छन् । सभामुखको निर्वाचन भोलि आइतबारलाई तोकिएको छ । रास्वपाका उपसभापति डोलप्रसाद अर्यालको मात्र एकल उम्मेदवारी परेको छ । रास्वपा सभापति लामिछानेले उपसभामुखको चयनमा संवैधानिक व्यवस्था, व्यावहारिक पक्ष र विगतका अभ्यासहरूलाई मध्यनजर गर्ने र पार्टीले सोही आधारमा कुन दललाई दिने भन्नेमा निर्णय लिने बताईरहेका छन् ।
.jpg)
