काठमाडौं । नेकपा एमालेभित्र शीर्ष नेतृत्वमै मतभेद चर्किएको छ । पार्टीभित्र पदाधिकारीबीचमै तीव्र धुव्रिकरण सुरु भएको छ । पार्टीका संसदीय दलका नेता तथा कार्यबाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’ले प्रतिनिधि सभामा दिएको अभिव्यक्तिलाई लिएर पार्टी पदाधिकारीमै असन्तुष्टि बढेपछि एमालेले आकस्मिक रूपमा केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
बैठक भोलि शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको छ । संसदीय दलको नेता चयनमा समेत पार्टीभित्र आन्तरिक जनवादको उच्चतम प्रयोगगर्न नदिइएको र महासचिव शंकर पोखरेलले प्रतिस्पर्धामा उत्रन चाहेका युवा नेता सुहाङ नेम्वाङलाई उम्मेदवार बन्नबाटै रोक्न भूमिका खेलेको आरोप लागिरहेको भोलिपल्टै दल नेता बादल पार्टीभित्रै विवादमा तानिएका हुन् ।
उनले आजको सम्वोधनमा एमाले पराजित हुनुमा र रास्वपाले जित निकाल्नुमा मुख्यतस् नेपाली सेना, ब्युरोक्रेसी, सुशीला कार्की नेतृत्वको चुनावी सरकार, गौरीबहादुर कार्की नेतृत्वको आयोग, बारबार फाउन्डेनजस्ता संस्था र पात्रको निर्णायक भूमिका रहेको आरोप लगाएका थिए । नेपाली सेनासम्मलाई जोडेर अभिब्यक्ति दिएपछि एमालेमा बादलको अभिब्यक्तिले भूकम्प गएको छ ।
बादल तिनै नेता हुन्, जसले २०६४ को संविधानसभापछि ततकालिन नेकपा (माओवादी) सबैभन्दा ठूलो दल भएर सरकारमा पुग्दा रक्षामन्त्री सम्हालेका थिए । त्यसबेला तत्कालिन प्रधानसेनापति रुकमाङगद् कट्वाललाई कारवाही गर्ने अडान लिँदा र तत्कालिन सरकारले कारवाही गर्दा माओवादी सत्ताबाटै हट्नुपर्नेसम्मको अवस्था निम्तेको थियो ।
बादलको आज सेना देखि शुसिला कार्की नेतृत्वको सरकार र ब्यूरोक्रेसीसम्मलाई मुछेर आरोप लगाएपछि उनी फेरि बिबादमा आएका हुन् । उनको अभिब्यक्तिले सेना, ब्यूरोक्रेसी, सुशीला कार्की नेतृत्वको सरकार सबैलाई आरोपित गरिँदा त्यो पार्टीको लाइन भएको सन्देश गएको भन्दै एमाले पदाधिकारीले नै असन्तुष्टि जनाएका छन् ।
त्यसपछि उनीहरुले बादलको अभिब्यक्तिबारे छलफल गर्न पार्टी सचिवालयको आकस्मिक बैठक बोलाउन माग गरेका हुन्। पार्टी स्रोतका अनुसार शुक्रबार दिउँसो १ बजे बस्ने बैठकको प्रमुख एजेण्डा नै थापाको त्यही अभिव्यक्ति हुनेछ। बादलले संसद बैठकमा राखेको धारणा पार्टीको स्थापित लाइनसँग मेल नखाने भन्दै पदाधिकारीहरूबीच असहमति बढेको हो।
समानुपातिकतर्फबाट संसदमा प्रवेश गरेका थापालाई अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि कार्यबाहक अध्यक्षको समेत जिम्मेवारी दिइएको थियो। तर उनको नेतृत्व स्वीकृतिको विषयमै पार्टीभित्र असन्तुष्टि रहँदै आएको बताइन्छ। उपाध्यक्ष विष्णु पौडेलले सार्वजनिक रूपमै थापाको अभिव्यक्तिप्रति असहमति जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत उक्त भनाइ पार्टीको नीति र मान्यताविपरीत रहेको उल्लेख गर्दै यस विषयमा गम्भीर छलफल आवश्यक रहेको संकेत गरेका छन्। अर्का उपाध्यक्ष गोकर्ण विष्टले पनि यही विषयमा सचिवालय बैठक केन्द्रित हुने बताएका छन्।
उपमहासचिव योगेश भट्टराईले भने विवाद बढेपछि पार्टीको आधिकारिक धारणा स्पष्ट पार्ने प्रयास गरेका छन्। उनले न्यायालय, सुरक्षा निकाय तथा कर्मचारीतन्त्रप्रति एमालेको कुनै वैरभाव नरहेको र ती संस्थाप्रति सम्मान कायम रहने बताएका छन्। साथै जनमतको सम्मान गर्दै कमजोरी सुधारेर पुनः जनविश्वास हासिल गर्नु नै पार्टीको मूल मार्ग रहेको उनले उल्लेख गरेका छन्।
के भनेका थिए बादलले संसदमा ?

नेपालमा भाद्र २३ र २४ गते अवैधानिक रुपमा रास्वपाको अघोषित नेतृत्वमा रंगक्रान्ति सफलतापूर्वक सम्पन्न भयो। फागुन २१ गते आमनिर्वाचनमार्फत निलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो। चैत्र १३ गते भव्य धार्मिक अनुष्ठानसहित श्री बालेन्द्र शाहज्यूलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइयो। यो ऐतिहासिक विजयका लागि रास्वपा तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूलाई म नेकपा (एमाले) को तर्फबाट धेरैधेरै बधाई भन्न चाहन्छु । यो अभुतपूर्व विजयमा आन्तरिक रुपमा ककसको निर्णायक भूमिका रह्यो, तथ्यहरूले के स्पष्ट गर्दछन् भने मुख्यतः नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बार्बरा फाउन्डेसन एनजीओ आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो। त्यसैले ति संस्था र पात्रहरूलाई पनि म एमालेको तर्फबाट धेरैधेरै बधाई भन्न चाहन्छु।
यो जादूमय विजयका ककसले निर्णायक भूमिका निर्वाह गरे असंख्य तथ्यले स्पष्ट पार्छन्, अदृश्य शक्तिहरु टीओबी, एआई, अल्गोरिदम, गोयबल्स, मिडिया ट्रायलहरू जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरुलाई खुँखार खलनायक र हत्याराका रूपमा स्थापित गरे । देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रलाई महानायक बनाए।
रास्वपाको विजय चामत्कारिक भएपनि केही असाधारण प्रश्न जन्माएको छ। कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत, बालुवाटार, प्रहरी चौकी, पार्टी कार्यालय सुनियोजित ढंगले जलाइयो ? कसले अबोध विद्यार्थीलाई निषेधित क्षेत्र तोड्न उक्सायो ? हतियारबद्ध टीओबीहरू भदौ २३-२४ गते तिलस्मी रुपमा प्रकट भए।
.jpg)
