ओली पक्राउपछि एमालेको देशव्यापी आन्दोलन घोषणा

ओली पक्राउपछि एमालेको देशव्यापी आन्दोलन घोषणा

सर्वपक्षीय संवाददेखि संसदसम्म दबाब बढाउने रणनीति, चैत २४ देखि जिल्ला भेला, वैशाख १२ मा काठमाडौंमा शक्ति प्रदर्शन

images
मंगलवार, चैत्र १७ २०८२
  • काठमाडौं । नेकपा एमालेले पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा देशव्यापी प्रदर्शन गर्ने भएको छ। ओली पक्राउपछि दोस्रो पटक मंगलबार बसेको पार्टी सचिवालय बैठकले देशब्यापी प्रर्दशन चर्काउँदै लैजाने निर्णय गरेको हो । उपाध्यक्ष रामबहादुर थापा (बादल)को अध्यक्षतामा बसेको बैठकले वडा, पालिका, प्रदेश हुँदै राजधानी केन्द्रित प्रदर्शनका कार्यक्रम गर्ने निर्णय लिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । 
    उनका अनुसार, चैत २४ गते सबै जिल्ला कमिटीले वृहत कार्यकर्ता भेला आयोजना गर्नेछन्। त्यसपछि पालिका, वडा तहमा भेला, विरोध प्रर्दशन गदै वैशाख १२ गते राजधानी काठमाडौँमा विरोध प्रदर्शन एवं सभा आयोजना गर्ने कार्यक्रम एमालेले तय गरेको छ । 

    एमालेले ओली र तत्कालिन ओली सरकारकै गृहमन्त्री रहेका कांग्रेस नेता रमेश लेखक पक्राउको विरोधमा सर्वपक्षिय नागरिक संवाद कार्यक्रम पनि गर्ने भएको छ । यसका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीनबहादुर शाहीलाई संयोजनको जिम्मेवारी दिइएको पनि महासचिव पोखरेलले जानकारी दिए । 

    यस्ता छन् एमालेका निर्णय
    पूर्वप्रधानमन्त्री  एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री रमेश लेखक को प्रतिशोधपूर्ण र बदला–प्रेरित गिरफ्तारी विरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले प्रहरीमार्फत गरेको दमनको घोर भर्त्सना गर्दै नेकपा ९एमाले० सचिवालय बैठकले निम्न कार्यक्रमहरू तय गरेको छः

    १) चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत भेला गर्ने।

    २) चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने।

    ३) वैशाख ३ गते वडा तहमा भेला गर्ने। 

    ४) वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने।

    ५) वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने।

    ६) सरकारद्वारा विद्यार्थी तथा पेशागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने। साथै, भोलि ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने।

    ७) सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई जिम्मेवारी दिइयो।

    ८) संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याललाई दिइयो। साथै, भोलि ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने।

    ९) आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend