काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने र सडक संर्घष पनि चर्काएर जाने निर्णय गरेको छ । अध्यक्ष केपी ओलीलाई सरकारले आज शनिबार बिहान पक्राउ गरेपछि एमालेले आज आकस्मिक सचिवालय बैठक बोलाएको थियो ।
सचिवालय बैठकपछि एमालेले अध्यक्ष ओलीको पक्राउ राजनीतिक पूर्वाग्रहका आधारमा भएको भन्दै कानुनी र राजनीतिक प्रतिवाद गर्ने र सडक संर्घष पनि चर्काएर जाने निर्णय लिएको हो । बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग गर्दै प्रतिवाद गर्ने निर्णय गरेको हो ।
एमाले सचिव महेश बस्नेतका अनुसार प्रत्येक जिल्लाको सदरमुकाममा आज शनिबार अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने लगायतका निर्णय भएका छन् ।
यी हुन् एमाले सचिवालयका ४ निर्णय
१) आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने।
२) प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने ।
३) प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने ।
४) लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग सम्वाद र सहकार्य गर्ने । नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने ।
.jpg)
