काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक शनिबार बिहान आफ्नै निवासबाट पक्राउ परेपछि राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। बालेन नेतृत्वको नयाँ सरकार गठन लगत्तै भएको यो कारबाहीलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि ओली र लेखक पक्राउ परेका हुन्। उक्त प्रतिवेदनले उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ र १८२ अनुसार कारबाही गर्न सिफारिस गरेको थियो।
पक्राउपछि पहिलो प्रक्रिया : स्वास्थ्य परीक्षण
कानुनी प्रावधानअनुसार अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिको सबैभन्दा पहिले स्वास्थ्य परीक्षण गरिनु अनिवार्य हुन्छ। सोही अनुसार पूर्व प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल लगेर परीक्षण सुरु गरिएको छ। मिर्गौला प्रत्यारोपण गराइसकेका बिरामी भएकाले उनको विशेष निगरानीमा स्वास्थ्य जाँच भइरहेको छ।
पूर्व गृहमन्त्री रमेश लेखकको पनि स्वास्थ्य परीक्षण प्रक्रिया अघि बढाइनेछ।
अबको कदम : अदालतमा पेश र म्याद थप
शनिबार सार्वजनिक बिदा भएकाले प्रहरीले दुवैलाई आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउनेछ। पक्राउ गर्दा नै जरुरी पक्राउ पुर्जी जारी गरिएकाले अदालतमा समयमै पेश गर्नु अनिवार्य हुन्छ।
अदालतले यदि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दियो भने मात्र प्रहरीले उनीहरूलाई थुनामा राख्न पाउनेछ। अन्यथा, हिरासत बाहिरै राखेर अनुसन्धान अघि बढाउनुपर्ने हुन्छ।
हिरासत अवधि : अधिकतम २५ दिन
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार प्रहरीले अनुसन्धानका लागि बढीमा २५ दिनसम्म मात्रै हिरासतमा राख्न पाउँछ। अदालतले प्रारम्भिक रूपमा केही दिनको म्याद दिन्छ र आवश्यक परे थप म्याद माग्न सकिन्छ, तर कुल अवधि २५ दिन नाघ्न पाउँदैन।
यस अवधिमा प्रहरीले प्रमाण संकलन, बयान, र अन्य अनुसन्धानका कामहरू सम्पन्न गर्नुपर्छ।
कस्तो अभियोगमा अनुसन्धान ?
प्रहरीले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा “हेलचेक्र्याइँपूर्ण कार्य गरी ज्यान मारेको” अभियोगमा अनुसन्धान अघि बढाउने तयारी गरेको छ।
यस अन्तर्गत लापरबाहीपूर्वक ज्यान मार्ने कसुरस् ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना र हेलचेक्र्याइँ गरी ज्यान मार्ने कसुरस् बढीमा ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना जस्ता सजायको व्यवस्था छ।
अन्तिम चरण : मुद्दा दर्ता र थुनछेक बहस
अनुसन्धान सकेपछि प्रहरीले मुद्दा दर्ता गर्नुपर्ने हुन्छ। त्यसपछि अदालतमा थुनछेक बहस सुरु हुन्छ। अदालतले निर्दोष ठहर गरेमा रिहा हुन सक्छन् । दोषी देखिएमा थप कानुनी प्रक्रिया अगाडि बढ्छ । ओली र लेखकको पक्राउसँगै अब कानुनी प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। अबको केही दिनभित्रै अदालतको आदेश, अनुसन्धानको गति र प्रमाणको आधारमा यस प्रकरणले कस्तो मोड लिन्छ भन्ने स्पष्ट हुँदै जानेछ।
.jpg)
