दाउन्ने । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । दुर्घटनामा परी रोल्पा बागमारा बस्ने अन्दाजी २५ वर्षीय गोविन बुढा, अन्दाजी २५–२६ वर्षका एक पुरुष र बसमा च्याप्पिएका अर्का एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुई जनाको भने सनाखत हुन सकेको छैन ।
पूर्व–पश्चिम राजमार्गमा गए राति करिब १२ः४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको लु २ ख २३५१ नम्बरको बस र ना ५ च २२७५ नम्बरको पिकअपलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनापछि बस र ट्रक सडकबाट तल खसेका थिए भने पिकअप सडक किनारमा पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १५ जनामध्ये १३ जनालाई थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल पठाइएको छ भने दुई जनाको चिसापानी अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।
.jpg)
