काठमाडौँ । नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । बैठकले ४ वटा निर्णय गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको मन्त्रीपरिषद्को बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
त्यसका लागि दुई तहमा प्रक्रिया अगाडी बढाइने निर्णय मन्त्रीपरिषद्को बैठकले गरेको छ । पहिलो, जाँचबुझ आयोगले सिफारिस गरेको व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेश गरेको सिफारिस बमोजिम गर्ने र दोस्रो, अन्यको हकमा सो आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्णय मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको छ ।
त्यसैगरी बैठकले सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई तोक्ने निर्णय गरेको छ । यसअगाडी प्राय सरकारको प्रवक्ता सञ्चारमन्त्रीलाई तोकिने गरिएको थियो । बैठकपछि प्रवक्ता पोखरेलले पत्रकारहरुसँग भने, पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनले कारबाहीका लागि सिफारिस गरेका मध्ये सुरक्षा निकायका हकमा अर्को अध्ययन समिति गठन गर्ने र अन्यको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय भएको छ ।
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलगायतलाई कारबाही सिफारिस गरेको थियो । तत्कालिन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइएको सो प्रतिवेदन सङ्घीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरिएको थियो ।
बैठकले जेनजी आन्दोलनलगायत विभिन्न आन्दोलनमा साहदत प्राप्त भएकाहरूलाई श्रद्धाञ्जली दिने निर्णय पनि गरेको छ । त्यस्तै, बैठकले शासकीय सुधारका योजना स्वीकृत गरेको प्रवक्ता पोखरेलले जानकारी दिए । सरकारको शासकीय सुधारका सय कार्यसूची स्वीकृत बैठकले गरेको र त्यसको बारेमा शनिबारसम्म प्रकाशित गर्ने योजना सरकारले बनाएको छ ।
.jpg)
