काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज प्रधानमन्त्री बन्दैछन् । सिंहदरवारको बागडोर आजदेखि उनले सम्हाल्नेछन् ।
गत फागुन २१ मा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुई तिहाई बहुमतसहित बालेन र रवि लामिछानेको पार्टी रास्वपाले एतिहासिक जनमत पाएपछि बालेनलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । चुनाव अगाडी नै रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा बालेनको नाम प्रस्ताव गरेर चुनावी प्रचारमा गएको थियो ।
रास्वपाले बिहिबार पार्टीको दलको नेताका रुपमा बालेनलाई सर्वसम्मत चुनेपछि उनी प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । रास्वपाले उक्त निर्णय राष्ट्रपति कार्यालयलाई समेत जानकारी गराइसकेको छ । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथका लागि शुक्रबार (आज) दिउँसो १२ बजेर ३४ मिनेटको समय तय गरेको छ । ठीक उक्त समयमा बालेनले शपथको शब्द उच्चारण गरिसक्ने गरी समय समेत तोकिएको छ । त्यस अगाडी नै शपथ समारोहमा आउनेलाई शित्तलनिवासमा आईपुगिसक्न राष्ट्रपति कार्यालयले निर्देशन गरेको छ ।
दिउँसो १२: ३४ बजे बालेनलाई राष्ट्रपति पौडेलले शपथग्रहण गराउने रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार शपथग्रहण समारोहमा सातवटा शंखबाट शंखनाद गरिनेछ । त्यस्तै, १०८ बटुकबाट स्वस्तिशान्ति वाचन र १६ बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिने उनले बताए ।
महामन्त्री बुर्लाकोटीका अनुसार प्रधानमन्त्रीसँगै मन्त्रीहरूले पनि शपथ लिनेछन् । मन्त्रीका नाम टुंग्याउन सभापति लामिछाने र वरिष्ठ नेता बालेनबिच छलफल भइरहेको छ । बिहिबार दल नेता चयन गरसँगै रवि लामछानेको नयाँ निवास गोल्फुटारमा मन्त्री छान्न सभापति लामिछाने र प्रधानमन्त्रीका उम्मेदवार बालेनका बीचमा छलफल भएको थियो । यो समाचार तयार पार्दासम्म सभापति लामिछाने, बालेन, उपसभापतिद्दय डिपि अर्याल र स्वर्णिम वाग्लेका बीचमा छलफल चलिरहेको छ । विज्ञता, समावेशिता, भूगोल मिलाएर मन्त्रिपरिषद्ले पूर्णता पाउने रास्वपाले जनाएको छ ।
शपथ पछि बालेनले सवा दुई बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदबहाली गर्ने कार्यतालिका छ । प्रधानमन्त्रीको पदभार ग्रहणका लागि तयारी भइसकेको मुख्यसचिव सुमनराज अर्यालले जानकारी दिए । पदबहालीपछि प्रधानमन्त्रीको निर्देशनअनुसार काम हुने पनि उनले बताए । मन्त्रिपरिषद् बैठक पनि आजै बस्ने सम्भावनाको विषय पनि प्रधानमन्त्रीको निर्देशनअनुसारै हुने मुख्यसचिव अर्यालको भनाइ छ ।
.jpg)
