देशबासीका नाममा बिदाई सम्बोधन

म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दै छु : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दै छु : प्रधानमन्त्री कार्की (पूर्णपाठ)

images
बिहिवार, चैत्र १२ २०८२
  • काठमाडौं । राष्टिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन शाहले भोलि शुक्रबार प्रधानमन्त्री पदको जिम्मेवारी सम्हाल्दै गर्दा चुनाव गराउन नेतृत्व सम्हाल्न आईपुगेकी प्रधानमन्त्री सुशीला कार्कीले बिहिबार बेलुकी देशबासीका नाममा बिदाई सम्बोधन गरेकी छिन् । 

    उनले जनेजी आन्दोलनका बेला डर र अनिश्चितताका बीच आफुले नेतृत्व सम्हालेर जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा आफू खुसी रहेको बताएकी छन् ।

    सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले आफू धेरै आशा बोकेर बिदा हुन लागेको बताएकी हुन् । ‘६ महिनाभित्र निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैले यो भूमिका स्वीकार गरेकी थिएँ,’ उनले भनिन्, ‘अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु ।’

    यस्तो छ प्रधानमन्त्री कार्कीको बिदाई सम्बोधनको पूर्णपाठ  
    आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

    नमस्कार।

    आज म तपाईंहरू सामु उपस्थित हुँदा मेरो मन केही भारी पनि भएको छ। म सम्झिएकी छु, ती नन्हिा बालबालिका, जसले भदौ २३ र २४ को घटनामा ज्यान गुमाउनुपर्‍यो। ती ऊर्जावान किशोरकिशोरी, जसले आजीवन अपांगता व्यहोर्नुपर्‍यो। ती परिवार, जसले आफ्नो सपना र सहारा गुमाउनुपर्‍यो।

    सभ्य र न्यायपूर्ण शासनको आह्वान गर्दै ज्यानको आहुति दिने ती शहीदहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। घाइते योद्धाहरूको स्वास्थ्य लाभको कामना गर्दछु। र, सहारा गुमाउनुभएका परिवारलाई भन्न चाहन्छु, तपाईंहरू एक्लो हुनुहुन्न।

    तोडफोड र आगजनीबाट ऐतिहासिक धरोहर, व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा पुगेको क्षतिप्रति पनि गहिरो दुःख व्यक्त गर्दछु। हामी फेरि उठ्नेछौँ भन्ने विश्वासका साथ एकजुट भएर अगाडि बढ्न म सबैलाई आह्वान गर्दछु।

    भदौ २७ गते मैले यो जिम्मेवारी सम्हाल्दा मेरो मनमा डर र अनिश्चितता थियो। तर देश संकटमा रहेको बेला केही आशाको दियो बाल्न सकिन्छ कि भन्ने आत्मविश्वास जुटाएर म यहाँ आएकी थिएँ। परिवर्तनकामी युवा पुस्ताको आग्रहमा, ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैले यो भूमिका स्वीकार गरेकी थिएँ।

    अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दै छु।

    हामी सबैलाई स्मरण होला— २०८२ भदौ २३ र २४ को युवाहरूको अगुवाइमा भएको जनआन्दोलनपछि को जटिल परिस्थिति। ७६ जनाको निधन, २ हजार ६ सयभन्दा बढी घाइते र ८४ अर्बको क्षति भएको त्यो समय अकल्पनीय थियो।

    त्यस्तो अवस्थाबाट वातावरण सहज बनाउँदै, सुरक्षा संगठनको मनोबल उकास्दै, प्रशासनलाई चलायमान र राजनीतिक दलहरूलाई निर्वाचनका लागि तयार गराउनुपरेको थियो।

    सरकार गठन भएको पहिलो हप्तादेखि नै हामीले निर्वाचन आयोगसँग समन्वय गर्दै स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन निरन्तर प्रयास गर्‍यौँ।

    आयोग पनि सरकारको चाहना र मुलुकको आवश्यकताबमोजिम घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने कार्ययोजनामा अघि बढ्यो। र, फागुन २१ गते तोकिएकै दिन एकै खेपमा ऐतिहासिक रूपमा शान्तिपूर्ण र स्वच्छ निर्वाचन सम्पन्न भयो।

    यस कार्यमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तज्यूहरू, त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरूले छोटो समयमा कठिन परिश्रम गरी महत्वपूर्ण भूमिका खेल्नुभयो। म उहाँहरूको उच्च प्रशंसा गर्दछु।

    नेपाली सेनाले अहोरात्र खटेर कहालीलाग्दो परिस्थितिलाई काबुमा लिँदै सुरक्षा व्यवस्था सुदृढ गर्न र निर्वाचन गराउन समेत महत्वपूर्ण भूमिका खेलेको छ। यसका निम्ति प्रधानसेनापतिसहित प्रत्येक सिपाहीलाई धन्यवाद दिन्छु।

    चौकी जलाइएका, हतियार लुटिएका, भगुवा, जुलुससमेत नभएका अवस्थामा पनि खरानीबाट उठाएर संगठनलाई पुनः सक्षम बनाउँदै निर्वाचन सम्भव तुल्याउने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख तथा प्रत्येक सिपाहीलाई धन्यवाद दिन चाहन्छु।

    राष्ट्रिय अनुसन्धान विभागले देखाएको सक्रियता थप प्रशंसनीय छ। यसका लागि प्रमुख र प्रत्येक कर्मचारीलाई धन्यवाद छ।

    आफ्नो घरबार छोडी छोटो समयका लागि पनि आएर सेवा गर्ने निर्वाचन प्रहरीहरूको योगदान सधैं सम्झिरहनेछु।

    निर्वाचनमा खटिने अदालतका कर्मचारीसहित प्रत्येक राष्ट्रसेवक पनि धन्यवादका पात्र हुनुहुन्छ।

    सबै राजनीतिक दल तथा उम्मेदवारहरूले विषम परिस्थितिका बीच निर्वाचनमा भाग लिएर गर्नुभएको सहयोगका लागि पनि आभारी छु। यस निर्वाचनको महान पर्वमा फागु पूर्णिमा ९होली० लाई पनि थाती राखी शान्तिपूर्ण तरिकाबाट सहभागी हुनुहुने सम्पूर्ण मतदाताप्रति कृतज्ञ छु।

    यस्तै सम्पूर्ण सञ्चारकर्मी, नागरिक समाज तथा पर्यवेक्षक पनि धन्यवादका पात्र हुनुहुन्छ।

    मित्रराष्ट्रहरू, विभिन्न विकास साझेदारसहित अन्तर्राष्ट्रिय समुदायको सहयोगप्रति पनि म कृतज्ञता व्यक्त गर्दछु।

    मेरो नेतृत्वमा सरकारमा सहभागी मन्त्रीज्यूहरू र मेरो सचिवालयको टोलीलाई पनि विशेष धन्यवाद दिन चाहन्छु।

    सम्माननीय राष्ट्रपतिज्यूको अभिभावकीय भूमिका र मार्गदर्शन स्मरणीय छ।

    विशेष परिस्थितिमा सम्पन्न यस निर्वाचनले धेरै नवीन र सकारात्मक अभ्यासहरू स्थापित गरेको छ।

    निर्वाचनको सुरक्षा, स्वच्छता, मितव्ययिता र समयको पालनामा यसपटक हामीले थुप्रै मानक स्थापित गर्न सकेका छौँ। आगामी चुनावहरूमा यही स्तर कायम राख्न सक्यौँ भने हाम्रो लोकतन्त्रलाई थप सुदृढ र समृद्ध चरणमा पुर्‍याउन सकिनेछ।

    यस निर्वाचनले हामीलाई एउटा महत्वपूर्ण पाठ सिकाएको छ— निस्वार्थ भावले देशको हितका लागि काम गर्दा जनताको साथ अवश्य पाइन्छ। संकटका बेला नेपालीहरू एकजुट भएर सामना गर्न सक्छन् भन्ने कुरा हामीले पुनः प्रमाणित गरेका छौँ।

    यो निर्वाचनमा जेनजी आन्दोलनको मर्म र भावनाबमोजिम परिवर्तनको पक्षमा नागरिकहरूले स्पष्ट जनादेश दिनुभएको छ।

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।

    युवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले जेनजी आन्दोलनका माग र आकांक्षाअनुसार मुलुकमा भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना, देशभित्रै रोजगारी सिर्जना, आर्थिक विकास र सामाजिक न्यायका क्षेत्रमा नतिजामुखी काम गर्नेछ भन्ने विश्वास लिएकी छु।

    छ महिनाको अवधिमा रहेको चुनावी सरकारले सबै काम गर्न नसके पनि केही आधारशिला अवश्य तयार गरेको छ।

    जटिल अपराध र भ्रष्टाचारको छानबिन गर्ने निकायहरूलाई पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ काम गर्न प्रेरित गरिएको छ।

    जेनजी आन्दोलनबाट प्रभावित उद्योग, व्यापार र प्रतिष्ठानलाई राहत तथा पुनरुत्थानका कार्यक्रम लागू गरिएको छ।

    आन्दोलनका क्रममा क्षति भएका संरचना तथा पूर्वाधारको पुनर्निर्माण कार्य अघि बढाइएको छ।

    अन्त्यमा, मुलुकका सबै संस्था र पक्षहरूले आफ्ना संवैधानिक मर्यादाको पालन गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउन चाहन्छु।

    नयाँ सरकारलाई स्वागत गर्न म आतुर छु।

    आज पूर्ण आत्मविश्वासका साथ म यो देशको उज्यालो भविष्य देखिरहेकी छु- जहाँ हाम्रो एकता, इमानदारी र प्रत्येक नागरिकको परिश्रमले नयाँ इतिहास लेख्नेछ।

    धन्यवाद। नमस्कार।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend