काठमाडौं। सरकार गठनबारे cfGtl/s tof/Ldf h'l6/x]sf बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूलाई सञ्चारमाध्यममा जथाभावी अन्तर्वार्ता नदिन र सरकार नबन्दासम्म सार्वजनिक टिप्पणी नगर्न आन्तरिक निर्देशन दिएको छ। त्यहीसँगै पार्टीले सांसदहरूलाई संसदीय प्रक्रिया र जिम्मेवारीबारे प्रशिक्षित गर्न दुई दिने अभिमुखीकरण आयोजना गर्दै कडा अनुशासनसहित ६ बुँदे आचारसंहिता पनि लागू गरेको छ।
संसदमा झण्डै दुई तिहाइ सिट जितेपछि पहिलोपटक संसदीय भूमिकामा उत्रन लागेका सांसदहरूलाई पार्टीले सार्वजनिक अभिव्यक्ति र संसदीय आचरण दुवैमा संयम अपनाउन निर्देशन दिएको हो। सरकार गठन, प्रधानमन्त्री चयन वा मन्त्री को–को बन्ने जस्ता विषयमा फरक–फरक धारणा सार्वजनिक भएमा त्यसले पार्टीभित्र मतभेद भएको सन्देश जान सक्ने भन्दै नेताहरूलाई सञ्चारमाध्यमसँग बोल्न नदिन विशेष निर्देशन दिइएको रास्वपा स्रोतले जनाएको छ।
यही पृष्ठभूमिमा रास्वपाले मंगलबार र बुधबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आवासीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। मंगलबार बिहान १० बजे ललितपुरको रोयल तुलप होटल सुरु हुने उक्त कार्यक्रममार्फत सांसदहरूलाई संसदीय प्रक्रिया, विधेयक निर्माण, संसदीय आचरण र दलको कार्यशैलीबारे जानकारी गराइने बताइएको छ।
अभिमुखीकरणलाई केन्द्रित र अनुशासित बनाउन पार्टीले सहभागी सांसदहरूका लागि ६ बुँदे आचारसंहिता जारी गरेको छ। आचारसंहिताअनुसार कार्यक्रम हलभित्र मोबाइल फोन प्रयोग गर्न निषेध गरिएको छ भने कार्यक्रममा बाह्य व्यक्तिको प्रवेशसमेत रोकिएको छ। सांसदहरूले परिवार सदस्य, साथीभाइ वा अन्य पाहुनालाई होटलमा आमन्त्रण गर्न नपाउने व्यवस्था गरिएको छ।
त्यस्तै, कार्यक्रम अवधिभर सांसदहरूले कार्यक्रम स्थलमा परिवार वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा छुट्टै बैठक गर्ने गतिविधि गर्न नपाउने निर्देशन दिइएको छ। सहभागीहरूले व्यवसायिक क्याजुअल पोशाकमा उपस्थित हुनुपर्ने पनि उल्लेख गरिएको छ।
पार्टीका अनुसार सांसदहरूले कार्यक्रममा सहभागी हुन ल्याएका सवारी होटल परिसर वा बाहिर पार्क गर्न सक्नेछन्। तर चालक वा अन्य व्यक्तिको भोजन तथा आवासको व्यवस्था सम्बन्धित सहभागीको जिम्मेवारी हुने बताइएको छ।
अभिमुखीकरण कार्यक्रमको समापनमा पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यसूची रहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।
निर्वाचनअघि नै बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा गएको रास्वपाभित्र अहिले सरकार गठन, सभामुख चयन र संसदीय जिम्मेवारी बाँडफाँटबारे आन्तरिक छलफल चलिरहेको छ। यहीबीच बाहिरबाट अनावश्यक विवाद नउठोस् भन्ने उद्देश्यले पार्टीले सांसदहरूलाई सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन र सञ्चारमाध्यमसँग अनावश्यक बहस नगर्न सचेत गराएको हो।
.jpg)
