काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पूर्वी रुकुमको चुनावी खर्च सार्वजनिक भएको छ । संयोजक प्रचण्ड पूर्वी रुकुमबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
प्रतिनिधिसभा चुनावका लागि प्रचण्डले रुकुम पूर्वमा कुल १८ लाख ५ रुपैयाँ खर्च गरेको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको छ । प्रचण्डको प्रतिनिधिका रुपमा नेकपाका पूर्वी रुकुमका जिल्ला संयोजक कुमारी बरालले निर्वाचन आयोगमा खर्च विवरण बुझाएकी हुन् ।
प्रतिनिधि सभा निर्वाचन ऐन, २०७४ को दफा ७२ अनुसार प्रचण्डको चुनावी खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको नेकपाकी जिल्ला संयोजक बरालले बताइन् ।
प्रचण्डले बुझाएको विवरणअनुसार निर्वाचन खर्च गरिएको बैंक खाता समेत उल्लेख गरिएको छ ।
खर्च विवरणअनुसार प्रचार–प्रसारका क्रममा मतपत्र, प्रतिबद्धता र घोषणापत्र छपाइमा ६ लाख १२ हजार ३ सय ८० रुपैयाँ, साउन्ड सिस्टममा ३६ हजार ५ सय रुपैयाँ, सञ्चार माध्यममा प्रसारण तथा प्रकाशनमा ४७ हजार ७ सय ५० रुपैयाँ खर्च गरिएको उल्लेख छ ।
त्यसैगरी इन्धन खर्चमा ३ लाख ६७ हजार ७ सय ७५ रुपैयाँ, यातायाततर्फ दुई वटा गाडीका लागि २ लाख ८४ हजार रुपैयाँ, कार्यालय सञ्चालन सामग्रीमा १ लाख ५२ हजार ८५ रुपैयाँ, होटलमा खाना तथा आवासमा २ लाख ७५ हजार ९ सय १५ रुपैयाँ तथा पिउने पानीमा १३ हजार ६ सय गरि जम्मा १८ लाख ५ रुपैयाँ खर्च भएको उल्लेख छ ।
प्रचण्ड रुकुम पूर्वबाट १० हजार २ सय ४० मत प्राप्त गरेर विजयी भएका थिए ।
.jpg)
