कुन दल कति क्षेत्रमा बने प्रतिद्वन्द्वी ?

कुन दल कति क्षेत्रमा बने प्रतिद्वन्द्वी ?

कांग्रेस ८४, एमाले ४०, नेकपा १७, रास्वपा ६ निर्वाचन क्षेत्रमा निकटतम प्रतिद्वन्द्वी बनेका छन्

images
सोमवार, फाल्गुण २५ २०८२
  • काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको परिणाम लगभग टुंगिन लाग्दा यसपटकको चुनावले अर्को महत्वपूर्ण राजनीतिक चित्र पनि देखाएको छ । प्रत्यक्ष तर्फ कुन दल कति क्षेत्रमा ‘निकटतम प्रतिस्पर्धी’ बने। जितेका सिट मात्र होइन, दोस्रो स्थानमा रहेका दलहरूको संख्या हेर्दा देशभर दलहरूको वास्तविक प्रभाव र जनाधारको नयाँ मानचित्र देखिएको छ।


    यसपटक निर्वाचनमा प्रमुख भनिएका कांग्रेस, एमाले र माओवादी (हालको नेकपा) प्रतिको असन्तुष्टिका कारण विकल्पका रुपमा नयाँ शक्तिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्लो र बलियो देखिएको छ ।  १६५ निर्वाचन क्षेत्रमा भएको प्रतिनिधिसभा निर्वाचनमध्ये एक क्षेत्रमा विवादका कारण मुद्दा अदालतमा पुगेको छ भने अर्को एक क्षेत्रमा मतगणना जारी छ । तर पनि जारी भईरहेको मतगणनामा पनि एमाले उम्मेदवार करिव जितको नजिक देखिएका छन् । विवाद भई अदालत पुगेको निर्वाचन क्षेत्र बाहेक बाँकी १६४ क्षेत्रको परिणामले दलगत प्रतिस्पर्धाको स्पष्ट तस्वीर देखाइसकेको छ।


    हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा धेरै १२५ सिट जितेको छ। नेपाली कांग्रेसले १८, नेकपा एमालेले (गणना भइरहेको क्षेत्रसहित) ९, नेकपाले ७, श्रम संस्कृति पार्टीले ३, राप्रपाले १ र एक स्वतन्त्र उम्मेदवार (महाबीर पुन) ले १ सिट जितेका छन्।
    तर चुनावी प्रतिस्पर्धाको अर्को पाटो भने फरक देखिएको छ। रास्वपाले जितेका कतिपय क्षेत्रमा ठूलो मतान्तरमा जित निकालेको छ । निकटतम प्रतिस्पर्धी दल निक्कै पुच्छरमा र जित निकालेको रास्वपा निक्कै अग्लो मतका साथ धेरै मतसहित विजयी भएको छ । जसले कांग्रेस, एमाले, नेकपा लगायतका दललाई उठ्नै नसक्ने गरी रास्वपाले किनारकृत गरिदिएको छ ।


    धेरै क्षेत्रमा कांग्रेस दोस्रो
    निकटतम प्रतिस्पर्धी बनेका दलहरूको तथ्यांक हेर्दा नेपाली कांग्रेस ८४ निर्वाचन क्षेत्रमा दोस्रो स्थानमा देखिएको छ। यसले कांग्रेसले धेरै क्षेत्रमा कडा प्रतिस्पर्धा गरे पनि अन्तिम परिणाममा जित निकाल्न नसकेको देखाउँछ।
    राजनीतिक विश्लेषकहरूका अनुसार यो तथ्यांकले कांग्रेसको जनाधार अझै देशभर प्रभाबशाली नै रहेको संकेत गर्छ। धेरै क्षेत्रमा अन्तिम मतान्तरमा बिजयी उम्मेदवारलाई पछ्याउन नसक्दा कांग्रेसले जित गुमाएको देखिन्छ।

    कांग्रेस फष्ट रनरअप (अर्थात दोस्रो) भएको ८४ निर्वाचन क्षेत्रमध्ये ७४ ओटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारसँग पराजित हुन पुगेको छ । ७ ओटा निर्वाचन क्षेत्रमा एमालेसँग हारेको छ । बाँकी ३ ओटा निर्वाचन क्षेत्रमा भने नेकपासँग कांग्रेस पराजित भएको छ ।


    एमाले ४० क्षेत्रमा प्रतिस्पर्धी
    नेकपा एमाले ४० निर्वाचन क्षेत्रमा निकटतम प्रतिस्पर्धी बनेको छ। जितको संख्या कम भए पनि एमाले अझै धेरै क्षेत्रमा मुख्य प्रतिस्पर्धी शक्तिका रूपमा देखिएको छ। संगठनात्मक संरचना र स्थानीय नेतृत्वका कारण एमालेले धेरै क्षेत्रमा अन्तिमसम्म प्रतिस्पर्धा कायम राखेको विश्लेषण गरिएको छ। गत जेनजी आन्दोलनका बेला अध्यक्ष केपी ओली प्रधानमन्त्री रहेको र त्यस आन्दोलनमा मारिएकाहरुप्रति अझै पनि अनुदार बनेको कारण पनि यसपटक मतदाताले एमालेलाई किनाराकृत गराउन खोजेको देखिन्छ । 
    एमाले दोस्रो भएको ४० निर्वाचन क्षेत्रमध्ये ८ ओटा क्षेत्रमा कांग्रेससँग हारेको छ । ३ ओटामा माओवादीसँग हारेको छ भने २ ओटामा श्रम सस्कृति पार्टीसँग, १ ओटा निर्वाचन क्षेत्रमा स्वतन्त्र उठेका महाबीर पुनसँग एमाले पराजित भएको छ । बाँकी २६ निर्वाचन क्षेत्रमा एमालेले रास्वपासँग पराजित भएको छ । 

    रास्वपा जितमा अगाडि, तर निकटतम प्रतिस्पर्धी सीमित
    प्रत्यक्ष तर्फ नै प्रतिनिधिसभामा बहुमत ल्याउन १३ सिट मात्र कम ल्याएको रास्वपाले समानुपातिक तर्फको प्राप्त मत र पाउने सिटलाई हेर्ने हो भने झण्डै दुई तिहाई जित निकालेको छ । रास्वपा ६ निर्वाचन क्षेत्रमा मात्रै निकटतम प्रतिस्पर्धी बनेको देखिन्छ। यसले रास्वपाको जित धेरै क्षेत्रमा प्रत्यक्ष प्रतिस्पर्धाभन्दा पनि नयाँ राजनीतिक लहर र मत विभाजनको परिणाम भएको संकेत गर्ने विश्लेषण पनि भइरहेको छ।
    रास्वपा २ ओटा निर्वाचन क्षेत्रमा एमालेसँग, २ क्षेत्रमा कांग्रेससँग तथा एउटा एउटा निर्वाचन क्षेत्रमा नेकपा र हर्क सम्पाङको पार्टी श्रम सस्कृति पार्टीसँग पराजित भएको छ । 


    नेकपा १७ क्षेत्रमा दोस्रो
    प्रत्यक्षतर्फ ७ सिट मात्र जित्न सफल भएको नेकपा १७ ओटा निर्वाचन क्षेत्रमा भने दोस्रो भएको छ । नेकपा कांग्रेससँग ६ स्थानमा, १० क्षेत्रमा रास्वपा र १ स्थानमा राप्रपासँग पराजित हुन पुगेको छ । धनुषामा रास्वपा उम्मेदवारको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि त्यहाँ भने नेकपाका उम्मेदवारले जित निकालेको छ । तर, उम्मेदवारी खारेज भएका रास्वपा उम्मेदवार सर्वाेच्च पुगेका कारण त्यस क्षेत्रमा निर्वाचन आयोगले नेकपा उम्मेदवारलाई जित घोषणा गर्न सकेको छैन । 
    उम्मेदवारी खारेज भएका रास्वपा उम्मेदवारले जित निकालेका नेकपा उम्मेदवारको भन्दा झण्डै दोब्बर मत प्राप्त गरेको अवस्था छ । अब यो २९ फागुनमा सर्वाेच्चले दिने आदेशमा परिणाम भर पर्नुपर्ने अवस्था छ । 

    नागरिक उन्मुक्ति पार्टी १, राप्रपा १, स्वाभिमान पार्टी १, जनता समाजवादी पार्टी ६, स्वतन्त्र १, नेपाल मजदुर किसान पार्टी १, नेपाल संघीय समाजवादी पार्टी १, उज्यालो नेपाल पार्टी १ स्थानमा प्रतिस्पर्धीका रुपमा देखिएर पराजित भएको छ । यी सवै पार्टी रास्वपाका उम्मेदवारबाट विभिन्न निर्वाचन क्षेत्रमा पराजित भएका थिए । यसले राष्ट्रिय राजनीतिमा साना तथा क्षेत्रीय दलहरूको प्रभाव अझै केही क्षेत्रमा कायम रहेको देखाउँछ।


    गठबन्धनविहीन चुनाव
    यसपटकको चुनावको अर्को विशेषता भनेको ठूला गठबन्धन बिना भएको प्रतिस्पर्धा हो। अधिकांश दलहरूले एक्लाएक्लै चुनाव लडेका थिए।
    केही सीमित स्थानमा मात्रै तालमेल भएको थियो। एमालेले केही क्षेत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टीसँग तालमेल गरेको थियो भने नेकपाले बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग एउटा निर्वाचन क्षेत्रमा सहकार्य गरेको थियो। तर समग्रमा चुनाव दलहरूबीच प्रत्यक्ष प्रतिस्पर्धामै केन्द्रित थियो।


    चुनावले देखाएको राजनीतिक संकेत
    चुनावी परिणामले नेपाली राजनीतिमा नयाँ शक्ति उदाएको संकेत दिएको छ। रास्वपाले ठूलो संख्यामा सिट जित्दै संसदमा निर्णायक उपस्थिति बनाएको छ। तर दोस्रो स्थानको तथ्यांकले भने पुराना दलहरूको संगठनात्मक जरा अझै बलियो रहेको देखाउँछ। कांग्रेस र एमाले अझै धेरै क्षेत्रमा प्रतिस्पर्धात्मक शक्तिका रूपमा देखिएका छन्।
    यसपटकको चुनावमा कांग्रेस, एमालेको असन्तुष्टिको मत रास्वपामा पुगेको र रास्वपाले अब सरकारको नेतृत्वमा रहँदा काम गर्न नसके फेरि अहिले रास्वपाले पाएको मत फेरि पूरानै दलमा सर्ने देखिन्छ । विश्लेषकहरूका अनुसार आगामी राजनीतिक समीकरण, संसदभित्रको बहस र भविष्यका चुनावी रणनीतिमा यही प्रतिस्पर्धाको स्वरूप निर्णायक बन्ने देखिन्छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend