काठमाडौं । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको सफलताका लागि नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएका छन् । शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत मोदीले नेपालको निर्वाचनबारे आफ्नो सन्देश जारी गर्दै नेपालको लोकतान्त्रिक यात्रामा हालै सम्पन्न भएको निर्वाचन र निर्वाचन परिणामलाई एउटा ‘ऐतिहासिक कोशेढुंगा’ को संज्ञा दिएका छन् ।
‘नेपालमा सफलतापूर्वक र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा म त्यहाँका जनता र सरकारलाई हार्दिक बधाई दिन्छु । मेरा नेपाली दिदीबहिनी र दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकारको यति जीवन्त प्रयोग गरेको देख्दा निकै खुसी लागेको छ ।’ मोदीले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
उनले यस उपलब्धिलाई नेपालका लागि गौरवको क्षण बताउँदै भारत एक घनिष्ठ छिमेकीका नाताले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइ हासिल गर्न भारत सदैव नेपालको साथमा रहने मोदीले प्रतिबद्धता दोहोर्याएको छन् । नेपालमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन लाग्दा नयाँ दिल्लीबाट आएको यो सन्देशलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
.jpg)
