निर्वाचन आयोगले भन्यो- करिब साठी प्रतिशत मत खस्यो

निर्वाचन आयोगले भन्यो- करिब साठी प्रतिशत मत खस्यो

images
बिहिवार, फाल्गुण २१ २०८२
  • काठमाडौँ ।  निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावमा देशभर गरी करिव ६० प्रतिशत मतदान भएको पारम्भिक अनुमान लगाएको छ । देशभरबाट निर्वाचनमा खसेको मतको तथ्यांक आउन बाँकी नै रहेपनि पारम्भिक तथ्यांकका आधारमा आयोगले त्यस्तो अनुमान लगाएको हो । 

    प्रतिनिधिसभा चुनाव आज सम्पन्न भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानको पारम्भिक तथ्यांकका आधारमा आयोगले करिव ६० प्रतिशत मतदान भएको अनुमान लगाएको हो । 

    निर्वाचन सम्पन्न भएपछि आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले अहिलेसम्मको प्राप्त विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको जानकारी दिएका हुन् । 

    उनले विस्तृत विवरण सङ्कलन जारी रहेको जनाउँदै छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक निर्वाचन सम्पन्न भएको राष्ट्रिय र अन्तरराष्ट्रिय पर्यवेक्षक संस्थाहरुको प्रारम्भिक प्रतिवेदनले जनाएको समेत बताए ।  
    दुर्गम १५ जिल्लाका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सङ्कलन गरिने जनाउँदै कार्यबाहक प्रमुख भण्डारीले मतपेटिका सङ्कलन भएपछि मतगणना तत्काल सुरु गरिने बताए । उनका अनुसार ताप्लेजुङ, रसुवा, दोलखा र रुकुमपूर्वमा मतपेटिका आजै  र सङ्खुवासभा, सोलुखुम्बु, मनाङ, हुम्ला,  रुकुमपश्चिम र बाजुराका मतपेटिका शुक्रबारसम्म हेलिकप्टरबाट सङ्कलन गरिनेछ ।
    आयोगले मताधिकारबाट प्रतिनिधि चुन्ने र शासन सत्ता सञ्चालनको प्रक्रियालाई पूर्णता दिने अभियानमा सहभागी र सहयोगी सबैलाई धन्यवाद दिएको छ । कतिपय स्थलमा मतदाताले मतदानमा सहभागी हुन अस्वीकार गरेको सन्दर्भमा कार्यबाहक प्रमुख आयुक्त भण्डारीले सरकार वा जनप्रतिनिधिले गरेका प्रतिबद्धता पूरा नहुँदा कतिपय स्थानमा मतदाताले मत नदिएको हुनसक्ने भएकाले ती मतदाताले संविधान, प्रणाली र आयोगप्रति भने असन्तुष्टि नभएको बताए । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend