बैतडीको महरागाउँमा फैलिएको ज्वरो ‘इन्फ्लुएञ्जा बी’ पुष्टि, दुई बालकको मृत्यु

बैतडीको महरागाउँमा फैलिएको ज्वरो ‘इन्फ्लुएञ्जा बी’ पुष्टि, दुई बालकको मृत्यु

images
बुधवार, फाल्गुण २० २०८२
  • बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका–१० स्थित महरागाउँमा केही दिनयता फैलिएको भाइरल ज्वरो मौसमी फ्लु ‘इन्फ्लुएञ्जा बी’ भएको पुष्टि भएको छ। धनगढीस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि उक्त भाइरस पहिचान भएको हो।

    गाउँमा ज्वरोको प्रकोप देखिएपछि स्वास्थ्यकर्मीको टोली महरागाउँ पुगेर बिरामीहरूको नमुना सङ्कलन गरेको थियो। परीक्षणका लागि सङ्कलन गरिएको १० जनाको ‘थ्रोट स्वाब’ नमुनामध्ये मौसमी फ्लु ‘इन्फ्लुएञ्जा बी’ भाइरस देखिएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए।

    भाइरल ज्वरोका कारण फागुन ११ गते १३ वर्षीय विनोद महरा र फागुन १६ गते उनका १० वर्षीय भाइ विकास महराको मृत्यु भएको थियो। एकै परिवारका दुई बालकको ज्यान गएपछि स्थानीयस्तरमा त्रास फैलिएको थियो।

    स्वास्थ्य शाखा प्रमुख कुँवरका अनुसार ‘इन्फ्लुएञ्जा बी’ सामान्य रूपमा देखिने मौसमी फ्लु भए पनि बालबालिका र वृद्धवृद्धामा यसको जोखिम बढी हुन्छ। विशेषगरी पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला तथा ६५ वर्षभन्दा माथिका दम, मुटु र मधुमेहजस्ता दीर्घरोग भएका व्यक्तिहरूले बढी सावधानी अपनाउनुपर्ने उनले बताए।

    गाउँमा प्रकोप देखिएपछि स्वास्थ्यकर्मीको टोलीले स्थानीयको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधि वितरण गरेको छ। साथै संक्रमण फैलिन नदिन जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको जनाइएको छ।

    स्वास्थ्यकर्मीहरूले नियमित रूपमा साबुनपानीले हात धुने, भीडभाडबाट टाढा रहने, खोक्दा वा हाछ्युँ गर्दा मुख र नाक छोप्ने जस्ता सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन्।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend